१३ औं साग : टेबल टेनिसमा नेपाललाई एक रजत र ३ कास्य

१३ औं साग : टेबल टेनिसमा नेपाललाई एक रजत र ३ कास्य

काठमाडौं : काठमाण्डौमा जारी १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत टेबलटेनिसमा नेपालले ४ पदक हात पारेको छ । शुक्रबार भएको पुरुषतर्फको सिंगल्समा नेपालले दुई कास्य जितेको हो । नेपालका दुई खेलाडी सेमिफाइनल पुगे पनि दुवै जना पराजित भएपछि कास्यमा सीमित भएका छन् ।

सोमबारदेखि लैनचौरस्थित टीटीहलमा भएको प्रतियोगितामा नेपालले पुरुष टिम इभेन्टमा रजत, महिला टिम इभेन्टमा कास्य तथा पुरुष सिंगल्समा स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्यले कास्य पदक हात पारेका हुन् ।शुक्रबार भएको सेमिफाइनलमा नेपाल खेलाडी स्यान्टु र पुरुषोत्तम भारतीय खेलाडीसंग पारजित भएपछि टेबलटेनिसको सिगल्सतर्फ फाइनल पुग्न सकेनन् ।

शुक्रबार बिहान भएको सेमिफाइनलमा युवा स्टार स्यान्टु श्रेष्ठ भारतीय खेलाडी अमलराज एन्थोनिसँग ४–० को सेटमा पराजित भए । उनी एन्थोनीसँग ११–४, १२–१०, ११–८, ११–२ को सेटमा पराजित भए । यता अर्को सेमिफाइनलमा भारतीय खेलाडी हर्मित देशाईसँग अनुभवी खेलाडी पुरुषोत्तम बज्राचार्य ४–० को सेटमै पराजित भए । उनी ११–५, ११–४, ११–१ र ११–४ को सेटमा पराजित भए ।

सागमा नेपाल टेबलटेनिसले पुरुष टिम इभेन्टमा जितेको रजत पदक पनि ऐतिहासिक बनेको हो । शिव सुन्दर गोथे, स्यान्टु श्रेष्ठ र पुरुषोत्तम श्रेष्ठ टिममा रहेको नेपाल पहिलो पटक टिम इभेन्टको फाइनलमा पुगेको थिए ।

यस्तै महिला टिम इभेन्ट्समा टेबलटेनिसतर्फ चौथो पदक नेपालले कास्य जितेको थियो । नविता श्रेष्ठ, रविना महर्जन र सिक्का सुवाल टोलीमा रहेको टिमले कास्य जितेको थियो ।