झन्डै ८० दिनपछि लकडाउन खुल्दै छ । सँगसँगै कोरोनाको कहर जोखिमबाट उच्च जोखिमतर्फ लम्कँदै छ । लकडाउन कहीँ र कहिल्यै सङ्क्रमण रोक्ने उपाय थिएन र होइन पनि । मात्र सबै एकैचोटि सङ्क्रमित हुँदा स्वास्थ्य व्यवस्था अस्तव्यस्त होला भनी बिस्तारै सङ्क्रमण हुँदै जान दिने तरिका मात्र हो । बरु जति ढिलो धेरै मानिस सङ्क्रमित बने, त्यति धेरै अन्य अनुभवका आधारमा सङ्क्रमणविरुद्ध उपचार र स्व(उपचारका तरिका सिकिने हुँदा जीवन र उपचारपद्धति अलि सहज बनाउने चतुर्याइँ हो । लकडाउन खुल्दै गरेको अवस्थामा के कस्ता सावधानी अपनाउनु जरुरी छ ? यहाँ केही टिप्स दिइएका छन् ।
१ कोरोनाको यथार्थ र गम्भीरता स्विकारौं
गर्मीले भाइरस मार्ने कुरा गलत साबित भइसक्यो । भान्सामा हामी अनेक मसला र जडीबुटी उपभोग गर्छौं, सक्रिय जीवनशैली छ। त्यसले गर्दा केही हदमा मृत्यु कम होला । तर हामी जोखिममुक्त छैनौं ।
२ चिन्तित बनौं तर आत्तिनुको अर्थ छैन
लकडाउनको कारण हाम्रो दैनिक सामान्य जीवनचर्यामा आएको परिवर्तनबारे चिन्तित हुनु जरुरी छ । किनकि यो अवस्था कोरोना नियन्त्रणपछि पनि केही समय कायम रहनेछ, अलि भिन्न प्रकृतिमा । अब लकडाउन होस् वा नहोस्, मुलुकले बेहोर्ने मानव क्षति लगभग एकै हुने अवस्था पैदा भइसकेको छ।
आफू र आफ्ना प्रियजनलाई सुरक्षित राख्न र बचाउन कोसिस गर्नुहोस् । बाँच्नका लागि जरुरी खाद्य पदार्थहरूको जोहो गर्नुस् । तर जरुरतभन्दा धेरै नराख्नुस् । आफ्नो परिवारबाहेक सामाजिक दूरी कायम हुन नसक्ने गरी पाँच जनाभन्दा धेरै मानिसको नजिक पुग्नुपर्ने अवस्था छ भने, त्यो यात्रा पुरै रोक्नुस् । तपाईं जागिर गर्नुहुन्छ तर कामसम्म जान, आउन र दैनिक काम गर्ने स्थानमा सुरक्षित दूरी कायम गरिरहने अवस्था छैन भने त्यो काममा समेत नजानुस् । जीवन रहे सबै रहन्छ । तपाईंसँग 'आफू असुरक्षित रहेको काम गर्दिन' भनी नकार्ने जन्मसिद्ध अधिकार छ। आफ्नो मानव अधिकारको उपयोग गर्नुस् ।
३ सतर्क रहनुस्
लकडाउन राज्यले विविध कारणबाट खोल्ने गर्छ । लकडाउन खोल्दैमा कोभिड १९ को सङ्क्रमण हुने जोखिम घटेको छैन, झन् बढेको छ । तसर्थ लकडाउनका बेलाका नियमहरूको नियमित पालना गर्नुहोस् । पटकपटक साबुनपानीले हात धुनुस् । सेनिटाइज नियमित गर्नुहोस् । घर र अफिसमा बाहिरबाट आउने सबै प्रकारका जोखिम रोक्नुहोस् । घरमा पाहुना आउन नदिनुस् । कसैकहाँ पाहुना हुन पनि नजानुस् । सकेसम्म घर छोडेर बाहिर नजानुहोस् । यदि घरमै हुनुहुन्छ भने पनि पटकपटक हात धुनुहोस् । काममा आफू सुरक्षित रहने वातावरण हट्न नदिनुस् । सुरक्षित दूरी कायम गरी काम गर्न सक्ने स्थिति छैन र त्यो अवस्थामा पीपीई लगाएर भौतिक दूरी कायम गर्ने स्थिति छैन भने त्यो काम तुरुन्तै छाडिदिनुस् । पहिला आफू सुरक्षित रहनुस् ।
४ डिप्रेसनबाट बचौं
यो चरणमा तपाईंले दिनदिनै सङ्क्रमितको सङ्ख्या अत्यधिक बढेको सुन्नुहुनेछ । सङ्क्रमितको सङ्ख्या मात्र नम्बर हो, त्यो रोक्ने कुनै तरिका बाँकी छैन । ती नम्बरहरूले निश्चित दिनको अन्तरालमा पहिलेका रेकर्डहरू तोड्दै गरेको देखिनेछ । चिन्ता नलिनुस् । कहिलेकाहीँ त कुनै ठाउँका एकै दिन सबै जना सङ्क्रमित बने रे भन्ने समाचार समेत सुनिन सक्नेछ ।
रोग कतिलाई लाग्यो भन्ने समाचार खासै भरपर्दो हुने छैन, एक त जाँच हुनुपर्यो । अर्को जाँच गर्ने तरिका सही हुनुपर्यो । जाँच गरेको मानिसमा अर्को मिनेटमै सङ्क्रमण भइसकेको पनि हुन सक्छ । रोग नै नभएकाको पनि पोजेटिभ नतिजा देखिन सक्छ । भएकाको नेगेटिभ पनि आउन सक्छ । यदि मान्छे अर्को रोगबाट मरेको छ, तर जाँच गर्दा कोरोना पोजिटिभ देखियो भने, त्यो कोभिड १९ बाटै मरेकोमा गन्ने गरिन्छ । तैपनि मान्छे मरेको खबर वा तथ्याङ्क नक्कली वा भ्रमपूर्ण हुने गुञ्जायस रहन्न । तसर्थ यो बेला कति जनालाई कोभिड १९ भयो भन्ने भन्दा पनि कतिको ज्यान जोखिममा छ भन्ने मुख्य हो । लकडाउनका कारण अब हामी सङ्क्रमित भए तापनि तुलनात्मक मृत्यु न्यून हुने परिस्थितिमा पुगिसकेकाले आत्तिनुपर्ने अवस्था छैन । आत्मबल दह्रो पारौं । बेकारको चिन्ताले गर्दा जीवनभर डिप्रेसनको रोगी हुने जोखिमबाट बचौं ।
५ परिस्थितिको डटेर सामना गरौं
हामी यो कोरोनासँग भागेर वा लकडाउन गरी घर बसेर वा जङ्गलै छिरे पनि कतै न कतैबाट यो हाम्रो जीवनमा ढिलोचाँडो ठोक्किन आइपुग्नेछ । योसँग भागेर बस्नुको अब कुनै अर्थ छैन । केही सामान्य नियम पालन गरी हामी आफ्नो व्यापार व्यवसाय र इलममा फिर्ता जाँदा यसबाट हामीलाई हुने सङ्क्रमणको जोखिम भागी हिँड्दाकै अवस्थामा पुर्याउन सक्छ । संसारमा त्यस्ता धेरै उदाहरण छन् । अब वैज्ञानिक तरिका अपनाएर योसँग भिड्ने समय आइपुग्यो ।
अब कोभिड १९ सँग अभ्यस्त भएर जीवनचर्या नियमित गर्न सिकौँ । लकडाउन पूर्ण रूपमै बिस्तारै खोलौँ । आउनुहोस्, सबै मिली छापामार शैलीमा लागेको कोभिड १९ भाइरसविरुद्ध एक व्यवस्थित र वैज्ञानिक तरिकाबाट जाइलागौं । कोभिड १९ भन्दा त क्यान्सरका कारण मृत्यु बढी भइरहेका छन् । हाल घातक देखिएको यो एउटा फ्लु हो । यो फ्लुसँग अभ्यस्त भएर जनजीविका चलाउन सिक्दै जाँदा, एक दिन यो पनि सामान्य रुघाखोकी या औसी पूर्णेजस्तो कहिलेकाहीँ देखिने फ्लुका रूपमा बदलिनेछ ।
यो जीवन हाम्रो हो, हामी मात्र एक पटक जिउन सक्छौं । खराब घटनालाई इतिहास बनाएर अन्यको अनुभवबाट सिकेर आफ्नो जीवनलाई सहज र उन्नत तरिको बाँच्न सक्छौं । वर्तमानमा जिउन अभ्यस्त बनौं । विगततिर फर्कन सम्भव छैन, भविष्यबारे निराश बन्नुको कुनै अर्थ छैन । भविष्य हाम्रै हातमा छ र त्यो आज हामी के गर्छौं र कसरी गर्छौं भन्ने कुराले निर्धारण गर्नेछ । तर एउटा कुरा याद गर्नुस्, यस्ता महामारीमा गल्ती गर्ने छुट कसैलाई छैन ।
(घिमिरे क्यानडा निवासी खाद्य तथा औषधि विज्ञ हुन् ।)