ओ जुंगावाला पियूष पाण्डे, आई मिस यु

शेषराज भट्टराई

ओ जुंगावाला पियूष पाण्डे, आई मिस यु

यही २४ अक्टोबर २०२५ को दिन एउटा समाचारले निकै दुःखी  बनायो,त्यो थियो भारतका ‘एडम्यान’ पियूष पाण्डेको निधन। मैले उनलाई कहिल्यै भेटिनँ, तर उनको स्टोरीटेलिङ र ब्रान्डिङको  गहिरो ज्ञानले मेरो जीवन र  सोचमा गहिरो प्रभाव पारेको थियो।

केही व्यक्तिहरूलाई नदेखेर पनि उनीहरूलाई महसुस गर्न सकिन्छ-पियूष त्यस्तै थिए। उनकोको निधनको खबरले मेरा बाल्यकालका ति पुराना दिन दिमागमा एक्कासी  घुम्नथाले।

म झापामा जन्मे, भद्रपुरमा, जहाँ मेची नदीले सीमाना मात्र होइन, सपनाहरू पनि जोडिदिन्थ्यो। ती दिनहरू अहिले नोस्टाल्जिक लाग्छन्-एउटा पुरानो फिल्मको रील जस्तो, जसमा हरेक फ्रेममा कथा जोडिएको छ। मेरो बाल्यकाल १९९० को दशक को थियो-परिवर्तनको दशक। नेपाली समाजमा राजनीति मात्र होइन, लाईफस्टाइल र चेतनाले पनि पुनर्जन्म लिदैथियो।

त्यो बेला टेलिभिजन विलासिता थियो। तर झापामा यो विलासिता बिस्तारै मेरो दैनिकीको हिस्सा बन्दै गयो। हाम्रो घर  टिभी भएका थोरै घरमध्ये एक थियो। नेपाल टेलिभिजनको सिग्नल त्यहाँ टिप्दैन थियो।

पश्चिम बंगाल नजिक भएकैले, बागंला दूरदर्शनका कार्यक्रम बझ्थे। आइतबार र सोमबार भने दूरदर्शन दिल्लीका च्यानलहरू अउनेगर्थे। र, ती कार्यक्रम पर्खेर बस्नुको मज्जा बेग्लै थियो। त्यही टेलिभिजन कार्यक्रमहरूले मलाई पहिलोपटक भारतसँग जोडिदियो।

मलाई अझै याद छ-राजीव गान्धीको हत्या भएको दिन। पूरै गाउँ स्तब्ध थियो। धेरै रोइरहेका थिए। मेरी आमा पनि रुनुभयो।मेरो विद्यालय बन्द भयो।अहिले बुझ्दैछु, त्यो शोक ‘मिडिया इफेक्ट’ को गहिरो असर थियो। सारमा, काठमाण्डौभन्दा दिल्ली हामीलाई नजिक थियो।

टेलिभिजनमा मनोरञ्जन कार्यक्रम सीमित थिए। तर प्रभावशाली-महाभारत, रामायण, चन्द्रकान्ता, चित्रहार जस्ता। कार्यक्रम हेर्दै जादा बीच-बीचमा आउँथे गज्जबका विज्ञापनहरू। कार्यक्रम बीचमा आउने ती विज्ञापनहरू- त्यो त हाम्रो बाल्यकालको ‘अनपेक्षित कविता’ जस्तै थिए।

फेविकोलको जोड, क्याडबरीको मिठास, लुना मपेडको रमाइलो दौड। ‘बुलन्द भारत की बुलन्द तस्वीर, हमारा बजाज’, यो लाइन अझै कानमा गुञ्जिन्छ। जब ‘मिले सुर मेरा तुम्हारा’ बज्थ्यो, त्यो धुनले मन रमाउँथ्यो। त्यतिखेर मलाई थाहा थिएन, यी विज्ञापनहरूको पछाडि क्रिएटिभ टिमको कति ठूलो हात हुन्छ भनेर।

लामो समयसम्म बुझिनँ। र सायद दर्शकको रूपमा बुझ्नु जरूरी पनि थिएन। समय तीव्र गतिमा बदलिँदै थियो। टेलिभिजनबाट स्मार्टफोनको युगसम्मको रूपान्तरण। त्यो बदलिँदो समयसँगै म पनि बदलिँदै गएँ-भद्रपुरबाट काठमाडौंको भीडमा।

विद्यार्थी जीवनको किताब लिएर सुरु भएको यात्राले मलाई उद्यमशीलताको बाटोमा ल्यायो। सन् २०१६ को कुरा हो। म दिल्लीको एउटा पुस्तक पसलमा थिएँ। अचानक मेरो नजर एउटा पुस्तकमा अडियो-कभरमा जुँगा भएको मान्छेको अनुहार थियो, गम्भीर तर मुस्कुराउने आँखा, जसले केही गहिरो कुरा भन्न खोजेजस्तो लाग्थ्यो। पुस्तकको नाम थियो ‘प्यान्डेमोनियम : पियूष पाण्डे अन एडभर्टाइजिङ’। पुस्तक पल्टाउँदै जाँदा थाहा भयो- यो त उही मान्छे। जसले ९० को दशकका ती विज्ञापनहरू बनाएका थिए। जुन मेरो बाल्यकालका हिस्सा थियो।

“हमारा बजाज।”
“वाशिंग पाउडर निर्मा।”
“नेरोल्याक।”
यी गीतजस्ता थिए।

त्यो पुस्तक पढिसकेपछी,  म त्यो मान्छेलाई निरन्तर फलो गर्न थालें-सोसल मिडिया, अन्तर्वार्ता, र पुस्तकमार्फत। उनी आबद्द कम्पनीका गतिविधि, सोच्ने तरिका मनपर्न थाल्यो ।

अब ब्रान्ड, इमेज बिल्डिङ, प्रमोशन वा राजनीतिक मार्केटिङसँग सम्बन्धित कुनै पनि मेरो काममा पियूष पाण्डे नजानेर मेरो अनौठो सन्दर्भ बन्न पुगे ।विशेष गरी उनको मेमोर ‘प्यान्डेमोनियम: पियूष पाण्डे अन एडभर्टाइजिङ’।

यो पुस्तक साँच्चिकै रमाइलो छ। यसमा पियूष पाण्डेको यात्रा छ-क्रिकेटको मैदानबाट विज्ञापनको क्यानभाससम्म। प्रत्येक कथा, एनेकट्डोट र सम्झना भारतीय मार्केटिङ जगतलाई भाइबरेन्ट बनाउँछ।

पुस्तकमा अमिताभ बच्चनसँगको मित्रता, क्याडबरी, गुजरात टुरिज्म, र भारत सरकारको पोलियो खोप अभियान जस्ता स्मरणीय अभियानहरूका रोचक विवरण छन्। ओगिल्वीको कार्यालयमा बसेर गरेका अनेकौ क्रिएटिभ कामका कथा प्रेरणादायी छन् ।

मलाई उनको सबैभन्दा मनपर्ने कथा हो-एशियन पेन्ट्सको। लामो समयदेखि एशियन पेन्ट्स कर्पोरेट विज्ञापनमा सीमित थियो।तर पियूषले यसलाई परिवर्तन गरे, उपभोक्तासँग जोडेर।

उनले सोचे-“ग्राहकलाई रंगमा होइन, घरमा गर्व हुन्छ।” त्यही क्षण उनले सानो कोठामा कलम समातेर अमर लाइन जन्माए-
“हर घर कुछ कहता है।” यो वाक्य लेखिसकेपछि उनी भावुक भएर रोए।

अर्को कथा क्याडबरी डेरी मिल्कको थियो। त्यो समय क्याडबरीको बिक्री घट्दै थियो। चकलेटलाई ‘बच्चाको मिठाई’ वा ‘उपहारको वस्तु’ मात्र मानिन्थ्यो; युवाहरूको सहभागिता थिएन। पियूष पाण्डेले यो ब्रान्डलाई नयाँ आँखाले हेरे। उनले सोधे-“चकलेट किन खान्छन्?” जवाफ आयो-“खुशी बाँड्न।”

उनले एउटा साधारण दृश्य कल्पना गरे: क्रिकेट मैदान। एउटा युवती, सलवार-कमीजमा, आफ्नो प्रेमीले छक्का हानेको खुशीमा दर्शकदीर्घाबाट उफ्रेर मैदानमा दौडने। उनी आधुनिक शैलीमा नाच्छिन्-हात फैलाएर, मुस्कान छरेर, पूरै मैदानलाई आफ्नो बनाउँछिन्। यो एउटा सांस्कृतिक विद्रोह थियो।

त्यो नाच भारतीय महिलाको स्वतन्त्रता को प्रतीक बन्यो। ९० को दशकमा जहाँ महिलालाई ‘सभ्य’, ‘शान्त’, ‘घरभित्र’ को स्टेरियोटाोइपमा बाँधिएको थियो, त्यहाँ एउटी युवती सार्वजनिक ठाउँमा खुलेर नाच्दै थिइन्-कुनै डर बिना, कुनै हिचकिचाहट बिना। उनको नाचले भन्यो-“म पनि खुशी हुन सक्छु। म पनि आफैं बन्न सक्छु।”
र त्यसपछि आयो एउटा नबिर्सिने लाइन-

“कुछ खास है हम सभी में।” यो पियुषको दिमाग थियो।

उनको  सिर्जना कर्पोरेट ब्रान्ड वा कन्ज्युमर गुड्स सम्म सीमित थिएन।पियूष पाण्डेको सन्देशहरू समाजको आत्मासँग जोडिएका थिए | १९९० को अन्त्यतिर भारतमा हरेक वर्ष करिब पाँच लाख बच्चा पोलियोको शिकार हुन्थे। सरकारी खोप अभियान काम गरिरहेको थिएन।

अशिक्षा, डर र अन्धविश्वासले भारतिय जनतालाई बाँधेको थियो।बालबालिकाको जीवन जोखिममा थियो, तर समाधानको बाटो अस्पष्ट थियो।

त्यो चुनौती सम्हाल्न पियूष पाण्डे ओगिल्वीको कार्यालयबाट अघि आए। भारतीय सरकारसँग मिलेर उनले बनाएको अभियान “दो बूँद जिंदगी के” ऐतिहासिक साबित भयो। पाण्डेले सोच्न थाले कसको आवाजमा देशले भरोसा गर्छ। जवाफ सिधा आयो अमिताभ बच्चन।

बच्चन बलिउडको आईकन थिए, एङ्ग्री यंग म्यान। पाण्डेले बच्चनलाई कन्सेप्ट सुनाउँदै भने सबैले तपाईंलाई एङ्ग्री यंग म्यान भन्छन् यसपटक एङ्ग्री ओल्ड म्यान बन्नुहोस्। बच्चन मुस्कुराए र भने ओके।
त्यो “ओके” नै भारतको स्वास्थ्य इतिहासको नया मोड बन्यो।

अब अमिताभ बच्चनको आवाज घर-घरमा गुञ्जियो, यदि तपाईंले खोप लगाउनुभएन भने, तपाईं भविष्यसँग अन्याय गर्दै हुनुहुन्छ। लाखौं अभिभावक जागृत भए। बच्चनको आवाज विश्वसनीय थियो।

७०-८० को दशकमा उनी भारतका सबैभन्दा प्रभावशाली व्यक्तित्वहरूमध्ये एक थिए। आम भारतीय अभिभावकले उनको शब्दमा विश्वास गर्थे। बच्चनको त्यो आवाजले मात्र होइन, पियूष पाण्डेको दूरदर्शिताले पनि इतिहास बदल्यो। सन् २०१४ मा भारत पोलियो-मुक्त भयो।

पछि पियूषले भावुक हुँदै भने- “यदि कुनै काममा म साँच्चै गर्व गर्छु भने, त्यो हो यो पोलियो अभियान। किनभने यसले सोच र जीवन दुवै बदलिदियो।”

पियूष पाण्डे  विज्ञापन र उपभोक्ता ब्रान्डमा मात्र माहिर थिएनन्। उनी राजनीतिक मार्केटिङका पनि जीनियस थिए। भारतीय राजनीतिमा २०१४ एक निर्णायक मोड थियो।

मनमोहन सिंहको सरकारले भ्रष्टाचारका आरोपहरूको बोझ बोकिरहेको बेला, गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्रीका उम्मेदवार बने।  यही समय थियो-जब भारतीय जनता पार्टीले आफ्नो प्रचार रणनीति पुरै नयाँ दृष्टिकोणबाट अघि बढायो।

 यस अभियानले राजनीतिक संवादको सीमालाई मात्र नभई सामाजिक संजाल, टिभी, समाचारपत्र र जनजीवनका सबै माध्यमहरूमा पार्टी र राजनीतिक न्यारेटिभलाई एकसाथ समाहित गर्नुपर्ने रणनीति लियो।

यसै अभियानमा पियूष पाण्डेलाई मार्केटिङ र ब्रान्डिङका लागि समावेश गरियो। उनले बिजेपीलाई दिए-“अबकी बार, मोदी सरकार।”को आईकोनिक लाईन ।

पियूष पाण्डे अब भौतिक रूपमा हामीसँग छैनन्।

भारतीय भए तापनि, उनका सिर्जनाले दक्षिण एशियाली सीमाभन्दा पर पुगेर मानिसको हृदयमा भाषा र भौगोलिक सीमाभन्दा परको संवाद निर्माण गरिदियो।उनको कामले हामीलाई दिएको टेकअवे हो-विज्ञापन, विश्वास र मानवीय सम्बन्धको कदर गर्ने कला हो।

पियूष पाण्डेले म भित्रको क्रिएटिभ ऊर्जा र मेरो सोच्ने ढाँचालाई पनि जगाइदिए। एडम्यानका रूपमा उनले मलाई सिकाए-सफल व्यवसायको हृदय सिर्जनशीलता हो, र क्रिएटिभिटी कुनै गिमिक वा ट्रिक होइन।

त्यो मान्छे क्रिएटिभ हो, जसले जीवन, अनुभव र मान्छेको हृदय बुझ्छ। उनी भन्थे-ब्रान्ड बनाउन लोगो होइन, भरोसा चाहिन्छ;
र त्यो भरोसा कुनै रणनीतिबाट होइन, इमानदार भावना र अरूको सम्मानबाट जन्मिन्छ।

त्यसैले आज म जब कुनै नयाँ विचारमा डुब्छु, म बजारको ग्राफ होइन, मान्छेको मनोविज्ञान बुझ्ने प्रयास गर्छु।
म ग्राहक होइन, मान्छे देख्छु।

पियूषको जिबन दर्शन सरल थियो तर गहिरो-
“पहिले मन जित, बजार आफैं आउँछ।”
यो वाक्य मेरो पेशागत जीवनको आधार बन्यो।
जब कहिल्यै कुनै अभियानमा जोडिन्छु,
म यही वाक्य सम्झन्छु, र लाग्छ-
भावनाले जित्ने कुरा तर्कले जित्न सक्दैन।

पियूष अब भौतिक रूपमा हामीसँग छैनन्,
तर उनका कथाहरू, उनका विश्वास
हाम्रो वरिपरि बाँचिरहेका छन्।
प्रत्येक सृजनामा
पियूष पाण्डे अझै जीवित छन्।

ओ पियूष पाण्डे, आई मिस यु।

-लेखक अर्बिट इन्टरनेशनल एजुकेसनका निर्देशक तथा इक्यानका अध्यक्ष हुन्।