सरकारले जे गरोस् छिटो गरोस्, तर विधिमा रहेर गरोस्

विपिनकुमार आचार्य

सरकारले जे गरोस् छिटो गरोस्, तर विधिमा रहेर गरोस्

७६ परिवारले यो वर्ष दशैं मनाउने छैनन्। ती परिवारमा पुगेको अपुरणीय‌ क्षति र त्यसले दिएको पीडालाई शब्दमा वर्णन गर्न सकिँदैन। आफ्नालाई सधैँका लागि गुमाएकाहरुको घरभित्रको मौनता, जमराको हरियो रंगसँगै हराएको भविष्यले देखाएको सत्य के हो भने, यही क्षणदेखि नै जीवनका घाउहरू भरिन सुरु गरे पनि ती परिवारमा दशैं फेरि दशैं जस्तो बन्न पुस्तौँ लाग्नेछ।

आँखा अगाडि मेहनतले बनाएको घर, रगत–पसिनाले उभ्याएको व्यवसाय खरानी भएको देख्नेहरू हुन् वा त्रासदीलाई नजिकबाट महसुस गर्नेहरू हुन्, ईष्र्यालु समाजभित्र बसेर फेरि सफलताको कथा लेख्ने हिम्मत कति जनाले गर्न सक्छन् भन्ने अनुमान गर्न पनि गाह्रो छ।

तर त्योभन्दा गाह्रो र स्वीकार्न कठिन सत्य के हो भने, भदौ २३ र २४ को रगतले लतपतिएको अध्यायका रचयिता तपाईं–हामी सबै हौं।

अक्षम, नालायक र निर्लज्ज छन् भन्ने थाहा हुँदाहुँदै पनि हरेकपटक भोट दिने नागरिकहरू; सत्ताका शोषकहरूलाई सही प्रश्न गर्न चुकेका मिडियाका साथीहरू; चाहेर वा नचाहेर क्रोनिजमलाई वैधता दिने सम्बन्धित सबै; र सामाजिक सञ्जालमार्फत नेपालीलाई हौस्याएर, उक्साएर नेपाली राजनीतिको नयाँ खेलाडी बन्न उद्धत सबैले स्वीकार्नैपर्छ कि त्यो रक्तरञ्जित पल हाम्रो असावधानी, हठ र आत्मकेन्द्रितताको नतिजा थियो। यस अर्थमा ती बगेका रगतको ऋणको आफ्नो भागको भारी हामी सबैले बोक्नैपर्छ। र त्यो बलिदानीले हामीलाई हरेक प्रहर पोल्नै पर्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू

२०८२ को जेन जी आन्दोलनपछि नागरिक अपेक्षा र राजनीतिक मनोविज्ञानमा ठूलो परिवर्तन आएको तथ्य हामीले सबैभन्दा पहिले स्वीकार्नुपर्छ। नेपाली समाजले खोजेको परिवर्तनको सारथी बन्न रास्वपाभित्र पनि परिवर्तन आवश्यक छ भन्ने तथ्य स्वीकार्न हामी सबै तयार हुनैपर्छ। हामी सबैले के बुझ्नुपर्छ भने गतिशील राजनीतिमा विश्वास गर्ने पार्टीभित्र पार्टी निर्माणका विविध आयाममा बहस हुनु सहभागितामूलक लोकतन्त्रको सूचक पनि हो। त्यसैले यस्तो बहस‌ टप–टु–डाउन मात्र नभई डाउन–टु–टप बाट पनि हुनुपर्छ भन्नेमा कुनै विमति हुनु हुँदैन।

तर, यस प्रक्रियामा हामीले बिर्सन नहुने कुरा के हो भने, राष्ट्रिय स्वतन्त्र पार्टीले सुसंस्कृत राजनीतिक अभ्यास र चरित्रसहितको दल निर्माणको यात्रा सुरु गरेको जम्मा तीन वर्ष मात्र भएको छ। पुराना दलहरूले पूर्ण सुधार गरेपछि पुग्ने स्तरभन्दा पनि धेरै अगाडिको बिन्दुबाट रास्वपाले यात्रा आरम्भ गरेको तथ्य हामीले स्मरण गर्नैपर्छ।

त्यसैले, अब पार्टीले तय गर्ने परिवर्तनको यात्राको आधार स्तम्भ अहिलेसम्मको अनुभव, आजको अवस्थाको तथ्यपरक मूल्याङ्कन, भविष्यको यथार्थपरक आँकलन र सबैले अपनत्व लिन सक्ने गहन छलफल हुनुपर्छ। परिवर्तनको यात्रा लहडमा नभई कार्ययोजना र कार्यान्वयन योग्य विकल्पसहित अघि बढ्नुपर्छ भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो जिम्मेवार पार्टीले बुझ्नैपर्छ।

पार्टी परिचालन र नेतृत्व चयनसँग प्रत्यक्ष सम्बन्ध राख्ने विधान परिमार्जन, महाधिवेशन मिति, सचिवालय वा पदाधिकारी संरचना, केन्द्रीय समिति वा अन्य संयन्त्रमा आवश्यक हेरफेर वा पुनर्गठन जे आवश्यक भए पनि त्यसका लागि गतिशील पार्टी सदैव तयार हुन्छ। तर, हरेक परिवर्तन विधिभित्र रहेर र विधिलाई सम्मान गर्दै गर्नुपर्छ भन्ने मूल सिद्धान्तलाई भने हामीले कहिल्यै बिर्सन हुँदैन। विधिको विकल्प नियत होइन र नियत र विधि सधैँ एक अर्काको परिपूरक हुनुपर्छ भन्ने कुरा यस्तो विषम परिस्थितिमा अझ बढी सान्दर्भिक तथ्य हो।

राष्ट्रिय स्वतन्त्र पार्टी छाडेर जाने साथीहरू

पार्टी त्याग गर्ने इमानदार साथीहरूप्रति सम्मानको संस्कृति पार्टीमा विकास हुनुपर्छ भनेर पछिल्लो केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमार्फत स्पष्टसँग कुरा राखेको थिएँ। पार्टी छोडेर जाने साथीहरूप्रति दुराभाव पार्टीभित्रको कसैले कहिल्यै पनि राख्नु हुँदैन।

तर, नियत भन्दा पनि नियतिले गराएका सम्भावित गल्तीहरू र केहीको आलोचना वा मिडिया ट्रायल‌लाई कै कारण कुनै समय आफ्नो यात्राको अभिन्न अङ्ग रहेको पार्टीलाई तुच्छ बनाउँदै गर्दा‌ त्यसले नयाँ पुस्ताको राजनीतिलाई लाभ गर्छ कि हानि भनेर जाने साथीहरूले सोच्नुपर्छ।

हुनत, आफू रहँदा प्रशंसा र छोडेर जाँदा सम्भव भएसम्म बदनाम गर्ने प्रवृत्ति नेपाली राजनीतिज्ञहरूको पुरानो चरित्र हो। राष्ट्रिय स्वतन्त्र पार्टी छोडेर जाने विद्वान साथीहरूको अन्तर्वार्ता हेर्ने हो वा स्टाटसहरू पढ्ने हो भने त्यो रोग हामीमा पनि अझै रहेछ भन्न अप्ठ्यारो मान्नु पर्दैन। यस्तो लाग्छ, यो देशमा राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा खराब पार्टी अर्को कुनै छैन र यो देशका सबै खराब नेताहरू यही पार्टीभित्रै छन्।

एकातिर देश बनाउन सबै वैकल्पिक वा नयाँ शक्तिहरू एक ठाउँमा नआई सुखै छैन पनि भन्ने अनि अर्कोतिर देश नै विषम परिस्थितिमा रहेको अवस्थामा विभिन्न आरोह-अवरोह देखेको फगत तीन वर्ष लामो यात्रा तय गरेको पार्टीलाई आक्रमण गर्नु न्यायसंगत पक्कै पनि होइन।

कन्स्ट्रक्टिभ क्रिटिसिजम भन्दा पर गएर गरिने विषबमन, चाहे पार्टी छाडेर जानेहरूबाट होस् वा पार्टीभित्र रहनेहरूबाट, त्यसले सुसंस्कृत राजनीतिलाई कहिले पनि सहयोग गर्दैन‌ ।

कुनै कारणवश पार्टी छाडेका साथीहरूलाई अनुरोध छ-कृपया आफ्नो ऊर्जा कुशासन र भ्रष्टाचारविरुद्ध खर्च गर्नुहोस्, रास्वपाको आलोचनामा मात्र होइन। नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी पुरानो भयो भन्ने लागेर अझ नयाँ बन्न खोज्नेहरूको नोकझोक पुरानालाई मात्र फाइदा पु¥याउने हो भन्ने हेक्का राखिदिन सम्बन्धित सबैलाई अनुरोध पनि छ।

पुराना पार्टीका पुराना नभइसकेका नेतृत्वहरू

२७५ सिटमध्ये करिब २०० सिट जित्ने तीन प्रमुख पुराना दलहरूको मूल नेतृत्वको अकर्मन्यता‌, शक्तिप्रतिको आसक्ति र पदको दुरुपयोगका कारण नै नेपाली समाजमा दलहरुप्रति यति ठूलो आक्रोश पोखिएको हो।

तीन वर्षअघि नेपाली जनताले मतमार्फत गरेको लगभग दुई–तिहाई विश्वास किन २०८२ भित्रै निस्तेज, नामेट र खारेज भयो भन्ने यथार्थ बुझ्दै, आवश्यक आत्मालोचना गर्दै, परिवर्तनका सम्भावित सबै प्रयास गर्दै फागुन २१ को निर्वाचनमा सहभागी हुन आग्रह गर्दछु।

पुरानो अङ्कको दम्भ बोकेर अगाडि बढ्ने प्रयास भयो भने, त्यसले देशलाई केही समय दुःख त पु¥याउनेछ तर पुराना पार्टीहरूको अस्तित्व सदाका लागि समाप्त गर्नेछ। त्यसैले, पुराना पार्टीका पुरानो नभइसकेका र देशलाई सर्वोपरि मान्ने यदि कोही बाँकी हुनुहुन्छ भने, आफ्नो मूल नेतृत्वलाई हटाई फ्रेश म्यान्डेट लिनका लागि मन,वचन र कर्मले लाग्न अनुरोध गर्दछु।

सरकारमा जानेहरू

मैले नवनियुक्त प्रधानमन्त्री र मन्त्रीज्यूहरूलाई शुभकामना दिँदै भनेको थिएँ– “तपाईंहरू सबैले याद राख्नुपर्छ, तपाईंहरूको शपथ कागजमा होइन, नेपाली युवाको रगतमा लेखिएको छ। तपाईंहरूले आर्जन गरेको अहिलेको शक्ति सम्मान होइन, ऋण हो। यदि यो ऋण भुल्नुभयो भने, इतिहासले सोध्नेछ ‘रगतको मूल्य कहाँ ति¥यौ?’”

दर्जनौँ कलिला युवाले ज्यान गुमाएको कहालीलाग्दो घटनाका प्रत्यक्ष र परोक्ष दोषीहरूको न्यायिक निरूपण जति महत्वपूर्ण छ त्यत्तिकै महत्वपूर्ण हिंसात्मक गतिविधिको छानबिन गरी दोषीलाई दण्डित गरेर आर्थिक तथा व्यावसायिक क्षेत्रको मनोबल बढाउनुपर्ने विषय पनि।

आन्दोलनको पक्ष र विपक्षमा रहेका आपराधिक मनोवृत्तिका तत्त्वहरूलाई विधिपूर्वक, विवेकपूर्वक र समयमा कारबाही गर्न सकिएन भने, त्यसले समाजमा ल्याउने विग्रहको अनुमान अहिले नै गर्न गाह्रो छ।

सरकारले नबिर्सनुपर्ने कुरा के हो भने‌ भलै पुरानो राज्यसत्ताका शासकहरू अहिले सरकारमा छैनन्, तर उनीहरूको दल छ, संरचना छ, र नेतृत्वप्रति विमति राखे पनि दललाई मान्ने ठूलो सदस्य संख्या अझै छ। यस्तो परिस्थितिमा सरकारले एउटा मात्र पाइला गलत चाल्यो भने पनि, पुराना दलहरू र आन्दोलनकारी दुबैको कोपभाजनमा पर्ने निश्चित छ।

त्यस्तो अवस्थामा न त निर्वाचन सहजै सम्पन्न हुन्छ, न लोकतान्त्रिक प्रक्रिया ट्रयाकमा आउँछ। अप्ठ्यारो नमानी भन्नुपर्छ ल्यान्डमाइनमा उभिएर देशलाई ट्रयाकमा ल्याउने जिम्मा पाएको यो सरकारको अरु सरकारले पाउने जस्तो हनिमुन पिरियड‌ पनि छैन।

दशैं पछाडिका हरेक दिन अत्यन्तै महत्वपूर्ण छन्। त्यसैले, सरकारले जे गरोस् छिटो गरोस्, तर विधिमा रहेर गरोस्, वस्तुपरक भएर गरोस् र हरेक निर्णयको सम्भावित क्रिया–प्रतिक्रिया बुझेर मात्रै गरोस्।

जेन–जी साथीहरू

यदि ७६ जनाको बलिदान र खर्बौँको नोक्सानी संघीय निर्वाचन अगाडि सार्न र केही व्यक्तिहरूलाई सत्ताको रसपान मात्र गराउन थिएन भन्ने कुरामा तपाईंहरू पक्कै पनि सचेत हुनुहुन्छ। तर तपाईंहरूले बुझ्नुपर्ने कुरा के हो भने, संविधान तथा कानुनहरू निरपेक्ष नहुँदा नहुँदै पनि यसमा गरिने सुधार र पुनरावलोकन विधिभित्रै रहेर गर्नुपर्छ, अनि मात्र त्यो दिगो हुन्छ।

नेतृत्वको अक्षमता वा बदमाशीको जवाफ भौतिक आक्रमण, लुटपाट वा हिंसाबाट दिने प्रवृत्ति सामान्यीकृत भयो भने, त्यसले समाजमा डर बाहेक अरू केही सिर्जना गर्दैन।

निहत्था विद्यार्थी र युवामाथि राज्यले गरेको बर्बर दमन नेपालको लोकतान्त्रिक शासन व्यवस्थामा कहिल्यै नमेटिने घाउ र कलङ्क हो। तर त्यसको जवाफ राज्यका सम्पत्ति र निजी व्यवसायमाथि धावा हुनु हुन्थेन ।

त्यसको नैतिक जिम्मेवारी सम्बन्धित सबैले लिनुपर्छ। सत्प्रयास राखेर गरिएको कार्यलाई सम्हाल्न नसक्दा के कस्तो विनाश हुँदो रहेछ भन्ने बुझेर मात्र अबको यात्रा तय गर्नुपर्छ।

जुन सकस यो देशले महसुस गरेको छ, त्यसको निकास फागुन २१ को निर्वाचन मात्र होइन भन्ने कुरामा तपाईंहरू पक्कै पनि प्रष्ट हुनुहुन्छ। राखिएका मागहरू यही संविधानभित्रै रहेर पूरा गर्न सकिने खालका छन् भन्ने पनि पक्कै बुझ्नुभएको छ।

त्यसैले, टुक्रा–टुक्रामा लडेर होइन, एउटै धागोमा बाँधिएर निर्वाचनमा होमिन जरुरी छ भन्ने कुराको आत्मबोध तपाईँहरूलाई छ भन्ने विश्वास राख्दछु।‌ त्यसैले नियत सही भएका सबै नयाँ शक्तिहरूलाई एउटै धागोमा बाँध्ने दिशामा सम्बन्धित सबैलाई दबाब दिनुहोला।

हाम्रा कारणले सत्ता परिवर्तन भएको हो भन्ने उन्मादबाट होइन, त्यसले दिएको गम्भीर जिम्मेवारी आत्मसात गर्दै देशका लागि जस्तोसुकै दूरदर्शिता, त्याग र सहकार्य देखाउन तयार रहनुहोस्। त्यसो भएन भने नवयुवाको जीवन उत्सर्गको ऋण सम्बन्धित सबैका लागि पाप बन्ने निश्चित छ।

दुर्गा माताले सबैलाई म होइन, हामी भन्ने भावना दिने सद्बुद्धि प्रदान गरून्। टिका र जमरा केवल परिवारको आशीर्वादमा सीमित नहोस्; यसमा राष्ट्रप्रतिको जिम्मेवारी, जनताको पीडा बुझ्ने संवेदना र देशलाई अघि बढाउने दृढ संकल्प पनि समावेश होस्। जसरी हरित जमराले नयाँपन र जीवनको प्रतीक बोकेको हुन्छ, त्यसरी नै प्रत्येक नेपालीले शुद्ध सोच, नयाँ दृष्टि र साझा प्रयासको बीउ रोपून्।

विजयादशमीको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना।

पुनश्चः सन्तानको रगत बगेर दशैंमा रुनेहरूको‌ पीडा‌ महसुस गर्न सक्नुहुन्न भने पनि ‌ रमाइलो गर्दै दशैं मनाएको फोटोहरू सामाजिक सञ्जालमा कृपया प्रेसित नगरिदिनुहोला।