नेविसंघले गर्‍याे कांग्रेससँग सम्वन्धविच्छेद

नेविसंघले गर्‍याे कांग्रेससँग सम्वन्धविच्छेद

काठमाडौं। नेपाल विद्यार्थी संघ अब नेपाली कांग्रेसको भातृसंस्थाको रुपमा नरहने भएको छ। नेविसंघले कार्यगत स्वायत्ततासम्बन्धी पारित गरेको छ। नेविसंघको शुक्रबार त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा सम्पन्न सिनेट बैठकले नेविसंघलाई अब पार्टीको भ्रातृसंस्थाका रुपमा नभई विद्यार्थीहरुको हिताग्रही संस्थाका रुपमा रहने निर्णय गरेको हो।

संघका अध्यक्ष दुजाङ शेर्पाले नेपाली कांग्रेसको सिद्धान्त र नीतिप्रति आस्था रहेपनि पार्टीको प्रत्यक्ष प्रभाव र प्रणालीभित्र नरहने गरी नेविसंघले कार्यगत स्वायत्ततासम्बन्धी प्रस्ताव पारित गरेको  जानकारी दिए। उनकाअनुसार सिनेट बैठकको निर्णयले नेविसंघलाई स्वायत्त र स्वचालित संस्थाका रुपमा स्थापित गरेको उनले बताए।

उनले भने,‘बदलिदो समय अनुसार विद्यार्थी आन्दोलनमा पनि सुधार जरुरी रहेको महसुस गरेकै थियो । सिनेट बैठकले नेविसंघमा संस्थागत सुधारको ढोका खुलेको छ । अब पार्टीप्रति सैद्धान्तिक समर्थन रहेपनि कार्यप्रणाली स्वायत्त बनाउने निर्णय गरेका छौं।’ संघको १२औं महाधिवेशन भने आगामी ०८३ को बैशाख २० र २१ गते गर्ने प्रस्ताव गरिएको छ ।

उनले पार्टीको भ्रातृसंस्थाका रुपमा रहँदा विद्यार्थी संगठन र आन्दोलनप्रति नै प्रश्न उठ्न थालेको भन्दै लोकतान्त्रिक मूल्य मान्यताप्रति ऐक्यवद्ध रहँदै विद्यार्थीहरुको विवेकअनुसार चल्ने संस्थाका रुपमा नेविसंघलाई अगाडि बढाउन खोजिएको उनले बताए । साथै सिनेट बैठकले नेविसंघको आगामि बैशाख २० र २१ गते गर्ने निर्णय पनि गरेको छ ।