निर्वाचन आयोगमा पेश गरिएका कागजले बाबुरामको राजनीतिक वरीयताको निर्धारण गर्दैन

निर्वाचन आयोगमा पेश गरिएका कागजले बाबुरामको राजनीतिक वरीयताको निर्धारण गर्दैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको वरीयताबारे चासो राखेका छन् । उक्त विषयमा चासो राख्दै थापाले सोमबार बिहान ट्वीट गरेका छन् । जसमा थापाले डा. बाबुराम भट्टराईको वरीयता र राजनीतिक उचाई निर्वाचन आयोगमा पेश भएको कागजले नगर्ने बताएका छन् ।

वरीयताको विषयमा भट्टराईलाई केहीले खिसी गरेको गुनासो थापाको छ । ‘वरीयताको विषयमा डा. बाबुराम भट्टराईलाई केहीले खिसी गरेको पढें । बाबुरामजीसँग धेरै विषयमा मेरो मतभेद छ । तर, उहाँको वरियता राजनीतिक उचाई निर्वाचन आयोगमा पेश भएको कागजले गर्दैन’, ट्वीटमा उनले लेखेका छन्, ‘लामो राजनीतिक यात्रा, संघर्षले समाजमा उहाँको स्थान कायम भैसकेको छ । एकता गर्दा नाम तल राख्न मानेर बरु उहाँको उचाई अझै बढेको देखिन्छ ।’

निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता गर्नुअघि बाबुराम भट्टराईलाई दोस्रो वरियताको अध्यक्ष बनाइएको भए पनि निर्वाचन आयोगमा पुग्दा भने उनको नाम ‘टिपेक्स’ले मेटेर बाबुरामलाई अशोक राई भन्दा तल चौथो क्रमको वरिष्ठ नेताको रुपमा नाम राखिएको छ ।