न्यूरोड र असनमा खुले सबैखाले पसलहरु

न्यूरोड र असनमा खुले सबैखाले पसलहरु

काठमाडौं । काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्यूरोड, असन, इन्द्रचोक क्षेत्रका व्यवसायीहरुले सबै प्रकारका पसलहरु सञ्चालनमा ल्याएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले व्यवसायीले बिहीबारदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म निश्चित समयका लागि सबै प्रकारका पसलहरु सञ्चालनमा ल्याएको जानकारी दिए ।

उनले स्थानीय संघ–संगठन, स्थानीय प्रशासन, स्थानीय सरकारसँग समन्वय गरेर व्यवसाय सञ्चालनमा ल्याएको बताए । उनले भने, ‘अब उपत्यका मात्र होइन । देशभर नै व्यवसाय चलायमान हुन्छ । स्थानीय संघ–संगठनहरुले स्थानीय सरकार र स्थानीय प्रशासन र स्थानीय सुरक्षा निकायसँग अनुमति लिएर पसलहरु खोलेका छौँ ।’

कोरोना भाइरसको महामारीबाट बच्नका लागि गरिएको लकडाउनले देशको अर्थतन्त्र ठप्प भएको र सरकारले भाइरसको रोकथामका लागि बढाएको लकडाउनका कारण व्यवसायीहरु निकै मारमा परेको उनले बताए ।

‘लकडाउनले सबैको अवस्था नाजुक बनेको छ’ उनले भने ‘तर व्यापार व्यवासयीहरुलाई बढी तनाव छ । सरकारले लम्ब्याएको लकडाउनले घर गुजारा गर्न पनि कठिन भइरहेको छ भने कर लगायतको अर्को सम्स्या छ ।’


साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि पसल र व्यवसाय खुला गर्ने निर्णय गरेको हो ।