अन्ततः झुक्यो सरकार, कर तिर्ने समय बढाउन तयार

अन्ततः झुक्यो सरकार, कर तिर्ने समय बढाउन तयार

काठमाडौं । ७२ औं दिनदेखि जारी लबडाउनकैबीच जेठ २५ गतेसम्म कर भुक्तानी गर्न सूचना जारी गरेको सरकार व्यापक जनबिरोधपछि कर भुक्तानी समय थप्न तयार भएको छ । नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधिहरुसँगको छलफलमा अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कर भुक्तानी समय थप गर्न तयार रहेको बताएका हुन् ।

महासंघका तर्फबाट बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष पशुपति मुरारका, अर्का उपाध्यक्ष किशोर प्रधान र उद्योग समितिका सभापति अञ्जन श्रेष्ठ सचिव ढुङ्गानासँग छलफल गर्न पुगेका थिए।

७२ दिनदेखि लकडाउन चलिरहँदा अर्थमन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व विभागले जेठ २५ गतेसम्म सम्पूर्ण कर भुक्तानी गरिसक्न मंगलबार सार्वजनिक सूचना जारी गरेको थियो। 

लकडाउन जेठ ३२ गतेसम्म निरन्तर रहने  घोषणा गरेको सरकारले  कर भने जेठ २५ गतेभित्रै बुझाउने उर्दी जारी गरेका कारण व्यवसायीका साथै सरोकारवालाहरु अप्ठेरोमा परेका थिए। सामाजिक सञ्जालमा सर्वसाधारणले अर्थमन्त्री डा युवराज खतिवडाको ब्यापक आलोचना गरेका थिए।

अर्थसचिव ढुङ्गानाले कसरी सहजीकरण गर्न सकिन्छ भनेर छलफल भएको जानकारी दिँदै आवश्यक निर्णय लिइने बताए। संभवत आजै साँझ सरकारले कर भुक्तानी गर्ने समय बढाउने निर्णय गर्ने छ।