जुवाको खालबाट पक्राउ परे एनआइसी बैंकका संचालक संघाईदेखि एलआईसीका अग्रवालसम्म

जुवाको खालबाट पक्राउ परे एनआइसी बैंकका संचालक संघाईदेखि एलआईसीका अग्रवालसम्म

काठमाडौं । काठमाडौंको कमलादीस्थित एक होटेलबाट सोमबार साँझ प्रहरीले भिआइपी व्यावसायीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गर्यो । क्वाइन र चिप्सहरु प्रयोग गरेर  क्यासिनो शैलीमा जुवा खेलिरहेका उनीहरुबाट दुई लाख ७७ हजार सात सय २० रुपैयाँ नगद र एक सय ७९ वटा चिप्स बरामद भएको थियो । 

प्रहरीले  होटेलमा छापा मारेर व्यावसायीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नगदसहित पक्राउ गरेको थियो ।अशोक अग्रवाल र विमल अउजा विशाल ग्रुपका संचालक हुन् भने अशोककुमार अग्रवाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी)का संचालक पनि हुन । रामचन्द्र संघाई एनआईसी एशिया बैंकका सञ्चालक हुन् । संघाईलाई गएको बर्ष नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति” सम्मानबाट विभूषित गरिएको थियो । उनी सुवास संघाईका भाइ हुन् । र, संघाई ग्रुपका संचालक हुन् ।

पुरुषोत्तम घिराइया कपडा ब्यापारी हुन् । गोविन्दराम सरिया झापाको चिया उद्योगीको भेषमा हुन्डीको कारोबार गर्दैआएका छन् । उनीहरुको साथबाट दरबारमार्ग प्रहरी बृत्तको टोलीले क्यासिनो खेलमा प्रयोग हुने सिक्का समेत बरामद गरेको थियो ।

उनीहरूले  चिप्समार्फत हिसाब गरेकाले ठूलो परिमाणमा हारजित भएको प्रहरी अनुमान छ । क्यासिनो शैलीमा होटेलमा जुवा खेलिरहेका उनीहरुमाथि जुवा ऐनअन्तर्गत मुद्दा चलाइने  महानगरिय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले बताए ।

पाँच दिन हिरासतमा राख्न अनुमति

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। उनीहरूमाथि अनुसन्धान गर्न प्रशासनले पाँच दिनको म्याद थप गरेको महनगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले जानकारी दिएका छन्।