जेठ २५ गतेभित्र सरकारलाई सम्पूर्ण कर तिर्नुपर्ने, नतिरे जरिवाना

जेठ २५ गतेभित्र सरकारलाई सम्पूर्ण कर तिर्नुपर्ने, नतिरे जरिवाना

काठमाडौं । सरकारलाई जेठ २५ गतेभित्र सबै कर बुझाउनुपर्ने भएको छ । लकडाउनका कारण सरकारले कर तिर्ने समसयीमा जेठ २५ गतेसम्म सारेको थियो । अब लकडाउन जारी रहे पनि २५ गते  अर्थात् आउँदो आइतबारभित्र उद्योगी व्यवसायीले सम्पूर्ण कर बुझाउनुपर्ने आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले जानकारी दिए । 

‘व्यवसायीले सरकारले बुझाउनुपर्ने जे जति करहरु छन्, २५ गतेभित्र बुझाउनुपर्छ,’ उनले भने, ‘अब समय थपिँदैन्, चैत बैशाख र जेठमा बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) आयकर, अन्तशुल्कलगायत सम्पूर्ण कर बुझाउनुपर्छ ।’ 

सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि कर तिर्ने समय पनि पछि सारेको थियो । अब समय नथपिने कुँवरले जानकारी दिए । सरकारले समय नथप्ने भएपछि व्यवसायीले डकलाउनकै बीचमा कर तिर्नुपर्ने भएको छ। 

लकडाउनका कारण राजश्व संकलन प्राय ठप्प छ । सरकारले कर्मचारीलाई तलव खुवाउन समेत समस्या पर्ने देखिएपछि करमा कडाइ गर्ने तयारीमा अर्थमन्त्री युवराज खतिवडा रहेका छन् ।