दरबार हत्याकाण्डको १९ वर्ष

दीपेन्द्र–देवयानीको दुःखान्त प्रेमकथा

दीपेन्द्र–देवयानीको दुःखान्त प्रेमकथा

काठमाडाैं । २०५८ जेठ १९ गते नारायणहिटी राजदरबार हत्याकाण्ड नहुँदो हो भने न ज्ञानेन्द्र शाह नेपालका अन्तिम राजा हुन्थे, न त डाक्टर रामवरण यादव पहिलो राष्ट्रपति । अहिले त राजसंस्थाको विधिवत् अन्त्य गरेको पनि दिव्य १२ वर्ष बितिसकेको छ । यादवको नामस्थानमा विद्यादेवी भण्डारी विराजमान छिन् । कोराना–कर्फ्युबीच शीतल निवासमा एक करोडको मखमली गलैंचा ओछ्याउने खुलेआम तयारीका कारण उनी आलोचित भइरहेकी छन् । 

जेठ १९ का १९ थान पात्रो फेरिइसके । तर दरबार हत्याकाण्ड अझै पनि रहस्यको कुण्डलिनी कुहिरोमै छ । यो त्यही हत्याकाण्ड हो, जहाँ राजा वीरेन्द्रको वंशसहित राजपरिवारका ११ सदस्य गोली हानी मारिए । त्यसरी मारिनेमा राजा वीरेन्द्रका उत्तराधिकारी युवराज दीपेन्द्र पनि थिए । वीरेन्द्र र दीपेन्द्रको विकल्पमा राजगद्दीको उत्तराधिकारी अधिराजकुमार निराजनको इहलीला पनि त्यही काण्डमा इतिश्री भयो । 

युद्ध वा क्रान्तिबाहेक शाही परिवारका यति धेरै सदस्य एकै ठाउँ कत्लेआम गरिएको घटना विश्व इतिहासमै दुर्लभ छ । शाही परिवारको सामूहिक संहार नै नेपालमा राजनीतिक परिवर्तनको एउटा कारण बन्न पुग्यो । निष्पक्ष तथा विश्वसनीय छानबिन हुन नसक्दा हत्याकाण्डको उद्देश्यबारे जनमानसमा विभिन्न आशंका छँदै छन् । 

बहुसंख्यक नेपाली दरबार हत्याकाण्डमा गोली युवराज दीपेन्द्रबाट चलेको मान्न तयार छैनन् । तर आफ्नी प्रेमिका देवयानी राणासँग बिहे गर्न नपाएको झोकमा दीपेन्द्रले नै गराएको विभिन्न बयान तत्कालीन छानबिन आयोग र हत्याकाण्डसम्बन्धी पुस्तकहरुमा दिइएको छ ।

शासकहरुका प्रेम प्रसंगले कुनै कुनै देशको इतिहास बदलिएका अनेक उदाहरण छन् । दरबार हत्याकाण्डको कारणभित्र दीपेन्द्र र देवयानीबीचको अदभुत प्रेमकथा लुकेको छ । भलै बीभत्स दरबार हत्याकाण्डसँगै त्यसको दुःखान्त भएको किन नहोस् । 

त्यो प्रेमको कथा नेपालबाट नभई बेलायती राजधानी लन्डनबाट थालनी हुन्छ, जतिबेला युवराज दीपेन्द्र बेलायतको लन्डनस्थित इटन कलेजमा पढ्थे । जहाँ चार्ल्स नामक एक बेलायती किशोर दीपेन्द्रका सहपाठी थिए । चार्ल्सका बाबु त्यसबेला बेलायती संसद्का लर्ड थिए । र, चाल्र्सकी बहिनी थिइन्– शेली । युवराज दीपेन्द्रको बेलायत अध्ययन क्रममा ‘लोकल गार्जियन’ थिए, शेलीका बाबु लर्ड । युवराज दीपेन्द्र २०४४ देखि २०४८ सम्म लन्डन बसेका थिए । 

त्यसै बेला कुनै तालिमको सिलसिलामा देवयानी पनि लन्डन पुगेकी थिइन् । संयोग के भने लन्डन बसाइमै देवयानीकी साथी बनिन् शेली । र, शेलीका बाबुले नै देवयानीका निम्ति पनि लन्डन रहँदा ‘लोकल गार्जियनसिप’ लिएका थिए । फुर्सदमा देवयानी शेलीकहाँ पुग्थिन् भने दीपेन्द्र चार्ल्सकहाँ । जवानी चढ्दै गएका दीपेन्द्र र देवयानीको पहिलो भेट चार्ल्स र शेलीको घरमै भएको थियो । 

पश्चिमा मुलुकमा युवायुवती बिनाहिचकिचाहट एकअर्कालाई प्रेम प्रस्ताव राख्न स्वतन्त्र हुन्छन् । उमेर पुगेका नेपाली शाही परिवार र राणा परिवारका यी दुई किशोरकिशोरीले पहिलो भेटमै एकअर्कालाई मनमनै मन पराइहाले । पहिलो भेटमै दीपेन्द्रले आफूमा पल्हाएको देवयानीप्रतिको प्रेम लुकाउन सकेनन् ।
दीपेन्द्रले चार्ल्स एवं शेलीकै बीचमा त्यो दिन देवयानीलाई ठट्टैठट्टामा भने रे, ‘तिमी त नेपालकी भावी बडामहारानी हुन लायक रहिछौ नि यार ।’ यसरी त्यो दिनदेखि सुरु भयो दीपेन्द्र र देवयानीबीचको प्रेमको सिलसिला । 

देवयानीको युवराजसँग प्रेम छ भन्ने जानकारी राजारानीले पाए पनि देवयानीका मातापिता पशुपतिशमशेर र उषाराजे सिन्धिया राणा २०५३ सम्म अनभिज्ञ थिए । यही अवधिमा दीपेन्द्रको सुप्रिया शाहसँग पनि ‘अफेयर्स’ चलिरहेको थियो, जो मुमा बडामहारानी रत्नकी दिदीकी नातिनी थिइन् । 

दीपेन्द्रको उमेर घर्किंदै जाँदा युवराज्ञीका लागि दरबारका छनोटमा तीन युवती थिए– गरिमा राणा, सुप्रिया शाह र देवयानी राणा । यीमध्ये दरबारका लागि सुप्रिया पहिलो नम्बरकी योग्य बधु थिइन् भने दीपेन्द्रको पहिलो छनोटमा देवयानी । २०५० को एसएलसीकी बोर्ड फस्ट गरिमा चाहिँ राणा परिवार र शैक्षिक योग्यताका कारण चर्चामा थिइन् । 
यसै क्रममा मुमा बडामहारानी रत्नले उनले देवयानीकी आमा उषाराजेसँग पनि प्रेम प्रसंगबारे बुझबुझारथ गरेकी थिइन् । त्यसपछि मात्र उषाले युवराज दीपेन्द्र र आफ्नी छोरी देवयानीबीच प्रेम सम्बन्ध रहेको चाल पाएकी थिइन् । उषाले भनिन् रे, ‘मेरी छोरी देवयानी मेरी मुमा (भारत, ग्वालियरकी रानी विजयाराजे सिन्धिया) सँग बसेर ज्यादै सम्पन्नतामा हुर्केकी छे । तर नेपालको राजपरिवार आर्थिक दृष्टिले दरिद्र छ, त्यहाँभित्र छोरीको जीविका कसरी चल्छ होला र ?’ देवयानीकी मावली हजुरआमा विजयाराजे सिन्धिया खड्गशमशेर (वीरशमशरेका भाइ) की ल्याइते श्रीमतीतर्फकी नातिनी थिइन् ।

दीपेन्द्रलाई आमाले खटाएर दिएको खर्चबाट गुजारा गर्नुपर्ने बाध्यता थियो भने पशुपतिपुत्री देवयानीलाई पैसाको कुनै पर्वाह थिएन । त्यतिबेलै पनि राजधानीका बैंकमा देवयानीको नाममा ५ करोड रुपैयाँभन्दा बढी बचत थियो । तर दीपेन्द्रले भने युवराज भएबापत नेपाल सरकारबाट प्राप्त गर्ने वार्षिक २४ लाख रकममध्ये थोरैमात्र रकम आमा ऐश्वर्यबाट अड्कली–अड्कली पाउँथे ।  

‘नेपालको राजपरिवार दरिद्र छ’ भन्ने उषाराजेको शब्दावली आफ्नो कानमा परेपछि रानी ऐश्वर्यले देवयानीसँग कुनै पनि हालतमा बिहे हुन नसक्ने अड्डी लिइन् । यस मामलामा राजा वीरेन्द्र निरीह र लाचार थिए । उनले कुनै हस्तक्षेप गर्न चाहेनन् । देवयानीलाई युवराज्ञी बनाउँदा भारतीय प्रभाव बढ्न सक्ने दरबारिया आकलन पनि नभएको होइन ।
यति हुँदाहुँदै पनि दीपेन्द्र एक दिन पनि देवयानीलाई नभेटिरहन सक्दैथेनन् । त्यसो त देवयानीले दीपेन्द्रसँग ‘प्रेम सम्बन्ध अन्त्य गरौं न त’ भन्ने प्रस्ताव समेत राखेकी थिइन् । तर उनी राजी भएनन् । सुन्दरी देवयानीका निति भारतको जोधपुर, भागलपुर, बरौदालगायत पुराना राज्यका राजकुमारसँग बिहेका निम्ति कुराकानी चल्दै थियो । 

दीपेन्द्र देवयानीको प्रेममा देवदास नै भएका थिए । आफूसँग बिहे नगरे बिष खाएर मर्ने चेतावनीसमेत दिएका थिए । भेटघाट र भलाकुसारीमा मात्रै दीपेन्द्र र देवयानीको प्रेम सीमित थिएन, उनीहरु विदेश जाँदा एकअर्काले उपहारसमेत ल्याइदिने गरेका  थिए । युवराज दीपेन्द्रले हातमा बाँधेको डेढ लाख मूल्य बराबर ओमेगा घडी देवयानीले विदेशबाट ल्याइदिएकी थिइन् । दीपेन्द्रले अक्सर बोक्ने  भिडियो क्यामरासमेत देवयानीले नै ल्याइदिएको उपहार थियो । 

आफ्ना प्रिय प्रेमीका निम्ति देवयानी कतिसम्म खर्च गर्थिन् भने, उनलेले बेलायतबाट फर्कंदा एउटा यस्तो टिसर्ट उपहारस्वरुप ल्याइन्, जसको मूल्यमात्रै १ हजार पाउन्डभन्दा बढी थियो । दीपेन्द्रले पनि देवयानीलाई टिसर्ट, पाइन्ट, कुर्ता सलवार र जुत्ता ल्याइदिएका थिए । 

यसरी २०४८ देखि मौलाएको दीपेन्द्र–देवयानी प्रेमालाप केही गरी नतोडिने भएपछि गरिमा राणा सबैभन्दा पहिले ‘साइड’ लागिन् । उनले एक चिकित्सकसँग घरजम गरिन् । पछि सुप्रियाले पनि त्यही बाटो पछ्याइन् ।

युवराज दीपेन्द्रले आफ्नै लागि बरौदाका राजकुमारलाई रित्तो हात फर्काएकी देवयानीलाई धोका दिनु उचित सम्झेनन् । प्रेममा उनी कति अन्धा थिए भने आफ्नै मातापिता, भाइबहिनी, नातेदारलगायत १० जनाको ज्यान जाने गरी गोली चलाए । र, अन्त्यमा उनी आफै पनि मारिए । दीपेन्द्र कसरी मारिए ?  यसको जवाफ दिने कोही माइकालाल जन्मेको छैन ।