रुकुम पश्चिम घटनाको विरोधमा माइतीघरमा जसपाको प्रदर्शन

रुकुम पश्चिम घटनाको विरोधमा माइतीघरमा जसपाको प्रदर्शन

काठमाडौं । नवगठित जनता समाजवादी पार्टी निकट दलित संगठनले रुकुम पश्चिम घटनाको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा विरोध कार्यक्रम प्रदर्शन गरेको छ। सरकारले घोषणा गरेको लकडाउन अवधिकै बीचमा आइतबार सो पार्टीले विरोध प्रदर्शन गरेको छ। 

गत जेठ १० गते मल्ल थरिकी युवतीसँग प्रेम सम्बन्धमा रहेका जाजरकोटका नवराज विश्वकर्मा युवतीलाई भगाउनका लागि रुकुम पश्चिम पुगेका थिए। तर युवती पक्षका मानिसको आक्रमणबाट उनीसहित ५ जनाले ज्यान गुमाउनु परेको थियो। घटनामा परी नवराजका एक जना साथी अझसम्म बेपत्ता छन्। 

जातीय विभेदका कारण आफूहरूमाथि आक्रमण भएको पीडित पक्षले बताएको छ। यसको देशव्यापी रूपमा विरोध भइरहेको छ। सदनमा सबै दलले विरोध गरेपनि सडकमा पहिलोपटक जनता समाजवादी पार्टी उत्रिएको हो। घटनालाई राजनीतिक रंग दिएर दोषीलाई उम्काउने प्रयास भएको भन्दै उसले विरोध कार्यक्रम गरेको जनाएको छ। 

विरोध कार्यक्रममा जनता समाजवादी पार्टीका शीर्ष नेताहरूसमेत सहभागी थिए। कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका डा बाबुराम भट्टराईले दोषीलाई उन्मुक्ति दिने षड्यन्त्र भइरहेको र त्यस्तो हुन नहुने आफूहरूको माग रहेको बताएका थिए।