प्रतिनिधिसभा बैठक शुरु, संविधान संशोधन विधेयक पेश

प्रतिनिधिसभा बैठक शुरु, संविधान संशोधन विधेयक पेश

काठमाडौं । प्रतिनिधिसभामा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबारको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो ।

मन्त्रिपरिषद बैठकले ५ जेठमा लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सा पारित गरेको थियो । त्यसको दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले अध्यावधिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो । संविधान संशोधन विधेयक यही जेठ ९ गते ३ बजे संसद सचिवालयमा दर्ता गरिएको थियो ।

१४ जेठको संसद बैठकको सम्भावित कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पेश गर्ने उल्लेख थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन प्रस्तावलाई सर्वसम्मत पारित गराउन गृहकार्य गर्नुपर्ने भनेपछि र प्रमुख प्रतिपक्षी कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गर्छौं भनेपछि १४ जेठको अन्तिम कार्यसूचीबाट संविधान संशोधनको कार्यसूची झिकिएको थियो ।

सरकारले संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरुलाई आह्वान गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपालगायतका दलले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।