भारतबाट आएका ६ वर्षीय बालकको क्वारेन्टाइनमै ज्यान गयो, कोरोना परीक्षण हुँदै

भारतबाट आएका ६ वर्षीय बालकको क्वारेन्टाइनमै ज्यान गयो, कोरोना परीक्षण हुँदै

डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकामस्थित डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक छन् । गएराति १२ बजेतिर उनको मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

आमा–बाबुसँगै भारतको मुम्बइबाट उनी शनिबार राति १२ बजे मात्रै डडेल्धुरा आइपुगेका थिए । उनीहरुलाई राति पुगेपछि क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । 

डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले बालकको अस्पताल पुर्याउनुभन्दा अघि नै मृत्यु भएको पुष्टि गरे । उनका अनुसार ती बालकलाई बिहान ३ बजे अस्पताल पुर्याइएको थियो । ती बालकले ज्वरोको उपचार गराइरहेको बुझिएको उनले बताए । यसअघि उनको मुम्बईस्थित एक अस्पतालमा मलेरियाको उपचार भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ । उनको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरी पठाइसकेको निमित्त मेसु विष्टले जानकारी दिए ।