काठमाडाैं । नेपाली काँग्रेसले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावमा समर्थन गर्ने निर्णय गरेकाे छ ।
शनिबार अबेर रातिसम्म चलेकाे पार्टीको केन्द्रीय कार्यसमिति बैठकले निशान छाप परिवर्तनका लागि गर्न लागिएकाे संविधान संशाेधन प्रस्तावका पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकमा बाेल्ने अधिकांश केन्द्रिय सदस्यले राष्ट्रियताकाे विषयमा पक्ष विपक्ष हुनै नसक्ने भन्दै समर्थन आवश्यक रहेकाे बताएका थिए
यही जेठ ११ गतेको काँग्रेस केन्द्रीय पदाधिकारी बैठकले सरकारद्वारा संसद्मा प्रस्तुत संविधान संशोधनसम्बन्धी विषयमा आवश्यक निर्णय गर्न पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार आज केन्द्रीय समिति बैठक बोलाइएको थियाे ।
सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि जेठ ९ गते सङ्घीय संसद्मा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७’ विधेयक दर्ता गराएको थियो ।