कोरोना संक्रमितलाई आइसोलेसनमा लान खोज्दा झडप, प्रहरीद्वारा हवाई फायर

कोरोना संक्रमितलाई आइसोलेसनमा लान खोज्दा झडप, प्रहरीद्वारा हवाई फायर

रौतहट । रौतहटको इशनाथ नगरपालिकामा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । इशनाथ नगरपालिकामा हिजो कोरोना पुष्टि भएकालाई अन्यत्र आइसोलेसनमा लान खोज्दा झडप भएको हो । इशनाथ ७ को जोकहामा रहेको अनवारुल इस्लामीक मदरसामा रहेको क्वारेन्टाइनका दुई व्यक्तिमा हिजो संक्रमण पुष्टि भएको थियो । 

कोरोना संक्रमित भएका दुवै जनालाई उपचारका लागी जिल्ला भित्रै अर्को स्थानमा रहेको आइसोलेसनमा लग्न चिकित्सक र सुरक्षाकर्मी पुग्दा सो स्थानमा वादविवादले उग्र रुप लिएको थियो । संक्रमितहरुलाई अन्यत्र नलगेर सोही नगरपालिका भित्र उपचार गराउनुपर्ने भन्दै स्थानीयले विरोध गरेका हुन् । 

झडप नियन्त्रणमा लिन प्रहरीले झण्डै १२ राउण्ड हवाई फायर गरेको छ । झडपमा प्रहरीको गाडीहरु समेत तोडफोड भएको छ । झडपलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय रौतहटबाट थप प्रहरी घटनास्थलतर्फ परिचालन गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले बताए ।