कोरोनाको संकटबीच नयाँ आर्थिक बर्षको बजेट ‘संयमित’

कोरोनाको संकटबीच नयाँ आर्थिक बर्षको बजेट ‘संयमित’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको संकटबीच संयमित बजेट ल्याएका छन् ।

लगातार दुई आर्थिक वर्ष बजेटले अपेक्षा गरेको स्रोत जुटाउन र खर्च गर्न असफल सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउँदा भने सजगता अपनाएको खबर आजको नयाँ पत्रिका दैनिकमा जनार्दन बराल र कृष्ण रिजालले लेखेका छन्।

कोभिड महामारीका कारण स्रोत र खर्च गर्न सक्ने क्षमतामा हुन सक्ने संकुचनलाई समेत ध्यान दिएर अर्थमन्त्री डा.खतिवडाले आगामी आवलाई १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन्।

यो बजेट चालू आवको सुरु बजेटको तुलनामा ५८ अर्ब ३२ करोड रुपैयाँले सानो हो । चालू आवका लागि १५ खर्ब ३३ अर्बको बजेट प्रस्तुत गरिएको थियो । तर, १० खर्ब ७३ अर्ब रुपैयाँ मात्रै खर्च हुने अर्थमन्त्री डा। खतिवडाले जानकारी दिए । यस वर्षको यथार्थ खर्चको तुलनामा भने आगामी आवको बजेट ३८ प्रतिशत ठूलो छ।

अर्थमन्त्री डा. खतिवडाले कोरोना महामारी नियन्त्रण, स्वास्थ्य पूर्वाधार विकास तथा स्वास्थ्य सेवा विस्तार, आर्थिक पुनरुत्थान र रोजगारी सिर्जना र कृषिलाई विशेष प्राथमिकता दिएर आगामी आवको बजेट तर्जुमा गरेका छन्।

कुल विनियोजित बजेटमा चालूतर्फ नौ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरिएको छ । कुल विनियोजित बजेटमध्ये चालूतर्फ ६४.४ प्रतिशत, पुँजीगततर्फ २३.९ प्रतिशत र वित्तीयतर्फ ११.७ प्रतिशत हो ।

बजेटको आकार घटाए पनि अर्थमन्त्री खतिवडाले चालू खर्च भने वृद्धि गर्दै विकास बजेट घटाएका छन् । आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको साधारण खर्च चालू आर्थिक वर्षको हाराहारी नै छ । यस वर्षको यथार्थ चालू खर्चको तुलनामा भने आगामी वर्षको सोही शीर्षकको खर्च ३५ प्रतिशत बढी हो । चालू आवमा सात खर्ब एक अर्ब मात्रै चालू खर्च हुने अनुमान बजेटले गरेको छ।