नयाँ व्यवसायीलाई सहुलियतमा ऋण, वृद्ध भत्ता यथावत्

नयाँ व्यवसायीलाई सहुलियतमा ऋण, वृद्ध भत्ता यथावत्

काठमाडौं । सरकारले नयाँ व्यवसाय सुरु गर्ने व्यवसायीहरूलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ। उद्यम गर्न चाहनेलाई ब्याजमा अनुदान दिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा ५० करोड रूपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७र७८ को बजेट प्रस्तुत गर्दै व्यवसाय सुरु गर्न चाहनेलाई सहुलियत प्रदान गर्न लागिएको जानकारी दिए ।

आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता यथावत्  रहने भएको छ । वृद्ध, सीमान्तकृत, एकल महिला, विकलांगका लागि सरकारले मासिक ३ हजार सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । यस्तो सामाजिक सुरक्षा भत्ताका लागि अर्थमन्त्रीले आगामी वर्षको बजेटमा ६७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका छन् ।

उनले ७० वर्ष माथिका नागरिकका लागि १ लाख रुपैयाँको निःशुल्क बिमा कार्यक्रमबाट तीन लाख जना लाभान्वित भएको भन्दै आगामी वर्षमा थप तीन लाखलाई लाभ पुर्‍याइने बताए । त्यस्तै, आगामी वर्ष ४ लाख परिवारलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमले समेट्ने अर्थमन्त्रीले घोषणा गरेका छन् ।