काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७-७८का लागि स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेर ९० अर्ब ६९ करोड पुर्याइएको बताए । अघिल्लो आर्थिक वर्ष स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
अर्थमन्त्री युवराज खतिवडाले कोरोना महामारी तथा संक्रामक रोगको लागि रोकथाम तथा नियन्त्रणका लागि उच्च प्राथमिकतामा राख्ने बताए । उनले कोरोनाको महामारी थप विस्तार हुन नदिन जोखिमयुक्त क्षेत्रमा परीक्षणको दायरा बढाउन, कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि औषधि ,उपकरणका लागि पनि जोड दिने बताए ।
यस्तै सबै स्थानीय तहमा ५ देखि १५ शय्याका २ सय अस्पताल बनाउन पनि सरकारले बजेट विनियोजन गरेको छ । तीन वर्षमा सबै नागरिकमा स्वास्थ्य बीमा र आगामी वर्ष ४० प्रतिशत जनसंख्यालाई बिमाको दायरामा ल्याइने अर्थमन्त्री खतिवडाले बताए । यो कार्यक्रमका लागि साढे ७ अर्ब विनियोजन गरिएको उनले बताए । यस्तै सरकारले महिला स्वास्थ्य कार्यकर्ताको भत्ता दोब्बर पारेको छ ।
सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब
सरकारले सामाजिक सुरक्षा भत्ता वितरणका लागि ६७ अर्ब ५० करोड छुट्याईएको छ । त्यसैगरी सरकारले हरेक स्थानीय तहमा ज्येष्ठ नागरिक सेवा तथा मिलन केन्द्र सन्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा केन्द्र निर्माण हुन बाँकी रहेका स्थानीय तह र वडामा केन्द्र स्थापना गरिने जानकारी दिए । उनले सरकारले हाल सन्चालनमा रहेका सबै सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिँदै त्यसकालागि ६७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।