बजेट भाषण आज, व्यवसायलाई कर छुट, कर्मचारीको भत्ता कटौती हुने

बजेट भाषण आज, व्यवसायलाई कर छुट, कर्मचारीको भत्ता कटौती हुने

आगामी आर्थिक वर्ष २०७७-७८ को राजश्व र आयको विवरण (बजेट भाषण) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ । नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र पुनर्उत्थान गर्ने गरी अर्थमन्त्री डा. युवराज खतिवडाले आज संसदमा आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण पेश गर्नेछन्र । 

यो बजेटले करको दर नबढाउने भएको छ । कोरोनाका कारण थलिएको व्यापार व्यवसायलाई कर छुट दिइनेछ । यद्यपि मदिरा तथा सुर्तीजन्य पदार्थको भने करको दर बढ्नेछ । स्रोतको दबाबका बीचमा ल्याइएको बजेटको आकार सानो हुनेछ ।यसैगरी फजुल खर्च कटौती गरिनेछ । जसमा तालिम गोष्ठी लगायतको खर्च कटौती हुनेछ । संसद विकास कोषको नामले परिचित स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमले निरन्तरता पाउनेछ । कृषि, स्वास्थ्य तथा रोजगारीले बजेटमा प्राथमिकता पाउनेछ । श्रम बैंकको अवधारणा अघि सारेर सो मार्फत रोजगार सृजनाका लागि बजेटले सम्बोधन गर्नेछ ।


कोरोनाले थलिएका क्षेत्र तथा व्यक्तिका लागि राहत अथवा सहुलियतको व्यवस्था समेत बजेटमा हुनेछ । अधुरा आयोजना तथा अत्यावश्यकीय नयाँ कार्यक्रम समावेश हुनेछ । स्वदेशी वस्तु उपभोगका लागि आयातित वस्तु प्रतिस्थापनको नीति बजेटले सम्बोधन गर्नेछ । अघिल्ला वर्षभन्दा फरक परिस्थितिमा आउने बजेटको प्राथमिकता सो परिस्थिति अनुरुप हुनेछ । रोजगारी तथा स्वरोजगारका लागि युवाहरुलाई अनुदान तथा सहुलियतको विशेष व्यवस्था हुनेछ ।

कर्मचारीहरूलाई दिईंदै आएका विभिन्न भत्ता पनि आगामी वर्ष कटौती हुनसक्ने संकेत अर्थमन्त्रीले गरेका छन् । सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन नै तयार पारेर अर्थमन्त्रालयले भत्ता भने कटौती गर्न लागेको छ । बजेटको तयारी भइरहँदा नै सरकारले आगामी आवको सुरुदेखि नै लागू हुनेगरी स्थानीयभत्ता, पोशाकभत्ताबाहेक सबैलाई कटौती गरेको छ ।