कर्णालीमा थप १२ मा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ६९४ पुग्यो

कर्णालीमा थप १२ मा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ६९४ पुग्यो

सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सुर्खेतमा संक्रमितको संख्या १५ पुगेको छ । यसअघि बराहतालका दुई र चौकुने गाउँपालिकाका एक गरी तीन जनामा संक्रमण देखिएको थियो । सामाजिक विकास मन्त्रालयका अनुसार सोमवार साँझ पीसीआर परीक्षण गर्दा वीरेन्द्रनगरका १० र सिम्ता गाउँपालिकाका दुई जना गरी १२ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले उनीहरु सबै भारतबाट आएको जानकारी दिए । केहीदिन अघिमात्र भारतबाट फर्किएका उनीहरुको नाकाबाटै नमूना संकलन गरिएको थियो ।

सुर्खेतमा संक्रमितको संख्या १५ पुगेसँगै कर्णालीमा भने यो संख्या २३ पुगेको छ । मन्त्रालयका अनुसार यसअघि दैलेखका आठ जनामा कोरोना पुष्टि भइसकेको छ । उनीहरु पनि भारतबाट फर्किएका हुन् ।

यससँगै नेपालमा संक्रमितको संख्या ६९४ पुगेको छ । संक्रमितमध्ये ११२ जना उपचारपछि घर फर्किएका छन् भने ४ जनाको निधन भैसकेको छ ।