धनगढी । सुदूरपश्चिम प्रदेशसभाको छैटौँ बर्खे अधिवेशन आजदेखि शुरु हुँदैछ ।
विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड–१९को जोखिम न्यूनीकरणका लागि सामाजिक दूरी कायम गर्दै सुरक्षाका उपाय अवलम्बन गरेर दिउँसो २ बजे अधिवेशन बस्न लागेको हो ।
कोभिड–१९को सम्भावित सङ्क्रमणवाट जोगिन प्रदेशसभा कक्षमा साविकमा राखिएका टेबुल कुर्सीलाई दूरी कायम हुने गरी व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बताए ।
‘‘सामाजिक दूरी कायम गरेर बस्नु पर्ने अहिलेको अवस्थामा बैठक कक्ष केही साँघुरो देखिएको छ, तर अन्य ठाउँमा विकल्प देखिएन”, सचिव धामीले भने, “सोही कक्षमा कम्तिमा पनि एक मिटर दूरी कायम गरेर प्रदेशसभा सदस्यलाई बस्ने कुर्सी टेबल राखेर सिटको व्यवस्थापन गरेका छौँ ।”
बैठक कक्षमा प्रवेश गर्नेले सेनिटाइजर, मास्क, पञ्जा प्रयोग गर्नुपर्नेछ । यसका लागि यी सामग्रीको व्यवस्थापन प्रदेशसभा सचिवालयले गरेको छ ।
यसबाहेक कोभिड–१९को सङ्क्रमणको सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि स्वास्थ्य जाँच नगराउने कसैलाई पनि बैठक कक्षमा प्रवेश गर्ने अनुमति दिइएको छैन ।
अधिवेशनको तयारीको क्रममा प्रदेशसभा सचिवालयको पहलमा प्रदेश सरकार मन्त्रिपरिषद्का सदस्य, प्रदेश सभाका सदस्यहरु, मर्यादापालक, सुरक्षाकर्मी, सचिवालयका कर्मचारी र सञ्चारकर्मीलगायत २९४ जनाको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिसकिएको छ ।
‘‘नमूना जाँच गर्ने सबैको नमूना ‘नेगेटिभ‘ आएको छ, सचिव धामीले भने, “नमूना परीक्षण नगरेकालाई बैठकमा प्रवेश गर्न दिइने छैन ।”