जेठ ४ मा निधन भएका व्याक्तिको आज भयो कोरोना पुष्टि, अन्त्येष्टिमा ५० बढी सहभागी

जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका–७ उम्जनका ७० वर्षीय पुरुषको कोरोना भाइरस परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । तर मृतकको ८ दिन अगाडि नै अन्त्येष्टि भइसकेको छ ।

नेशनल मेडिकल कलेजले गम्भीर लापरवाही गरेको पाइएको छ । वीरगञ्जको नारायणी अस्पतालमा गरिएको कोरोना परीक्षणको रिपोर्ट शंकास्पद आएकाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट नआउादासम्म शव परिवारलाई बुझाउन मिल्दैनथ्यो । किनकी कोरोनाबाट मृत्यु भएको भए अन्त्येष्टिको छुट्टै प्रोटोकल छ, त्यसअनुसार सुरक्षा उपाय अपनाएर मात्र अन्त्येष्टि गर्नुपर्छ ।

तर अस्पतालले केही नभए जसरी शव परिवारलाई बुझाएको पाइएको छ । मृतकका चार छोरा, एक छोरी, एक बुहारी र एक नातिनी छन् । बहिनी ज्वाईंको घर वीरगञ्जमा थियो, त्यसैले उपचारका जेठा र कान्छा छोरा मात्र आएका थिए ।

४ गते निधन भएपछि शव बुझे र एम्बुलेन्समा राखेर फेरि गाउँ लगे । आफ्नो धार्मिक परम्परा पुरा गर्दै घरबाट झण्डै डेढ किलोमिटर दुरीमा रहेको घाटमा अन्त्येष्टि गरे । ५० भन्दा बढी मलामी गएका थिए ।

स्थानीयको भनाइ उधृत गर्दै वडाध्यक्ष बृज चौधरीले बताएअनुसार मृतकको शव बाँध्ने बोक्ने प्रक्रियामा छोराहरु नै सहभागी भएको पाइएको छ । मलामीहरुले सामाजिक दुरी कायम गरेको बताएका छन् ।