कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा

काठमाडौं: अदालतले पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

आइतबार शुरु भएको थुनछेक बहस सकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।
अदालतको आदेशसँगै महरालाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले महराविरुद्ध जबरजस्ती करणी उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा साढे ७ वर्ष कैद सजाय मागदाबी गरेको छ ।काठमाडौं जिल्ला अदालतको आदेशानुसार मुद्दा प्रक्रिया नटुंगिदासम्म महराले थुनामै रहनुपर्ने छ ।

यद्यपि, महराले जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न पाउने छन् ।महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि गएकाे असाेज १९ गते प्रहरीले पक्राउ गरेको थियो ।