काठमाडौंका समाजसेवी, किराना पसले र ट्रक ड्राइभरमा कोरोना संक्रमण

काठमाडौंमा सोमबार थपिएका ३ संक्रमितमा एक समाजसेवी, एक किराना पसले र एक जना ट्रक ड्राइभर भएको खुलेको छ । सोमबार बिहान देशभर एकैपटक ७२ संक्रमित थपिँदा काठमाडौंमा पनि ३ जनालाई संक्रमण भएको सार्वजनिक भएको थियो ।

संक्रमितमा टोखा नगरपालिकाका २ जना र बुढानिलकण्ठका १ जना रहेका छन् । उनीहरुको उमेर २७ , ४१ र ३७ वर्ष रहेको र तीनै जना पुरुष रहेको पनि बताइएको छ ।

बुढानिलकण्ठका संक्रमित समाजसेवी रहेको बताइएको छ । बुढानिलकण्ठ क्षेत्रमा कसैलाई साह्रोगाह्रो पर्दा उनैले आफ्नो निजी गाडी प्रयोग गरेर सहयोग गर्दै आएका थिए । उनको गाडीले धेरै बिरामीको ओसारपसार गरेकोले उनलाई संक्रमण सरेको हुन सक्ने अनुमान गरिएको छ । बुढानिलकण्ठ नगरपालिकाले गत साता गरेको दुई सय बढीको परीक्षणका क्रममा उनीमा संक्रमण पोजिटिभ पाइएको हो ।

यस्तै टोखाका एक जना संक्रमित ग्राण्डी अस्पतालनजिक रहेको फुटसल मैदानको उत्तरतर्फ किराना पसल सञ्चालन गर्दै आएका पसले भएको र अर्का एक जना ट्रक ड्राइभर भएको खुलेको छ ।