आज २ जना प्रहरीमा कोरोना पुष्टि, संक्रमित सुरक्षाकर्मीको संख्या १८ पुग्यो

कोरोना भाइरस नियन्त्रको लागि खटिएका प्रहरी नै कोरोना संक्रमित हुने क्रम बढेको छ । धनुषामा सोमबार तीन जनामा कोरोना पुष्टि भएकाहरुमध्ये २ जना प्रहरी रहेको खुलेको छ । धनुषास्थित नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा रहेको क्वारेन्टाइनको सुरक्षामा रहेका २ जना प्रहरी र त्यही बसेका १ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

संक्रमित प्रहरीहरुमध्ये १ जना असई र १ जना जवान रहेका छन् । तीनै जनाको स्वाब संकलन जेठ ७ गते गरिएको गंगुलीस्थित क्वारेन्टाइनका संयोजक सन्तोष ठाकुरले जानकारी दिए । प्रहरीबाहेक १ जना संक्रमित भारतबाट आएको बताइएको छ । उनलाई दिल्लीबाट फर्किए लगत्तै जेठ ६ गते क्वारेन्टाइनमा राखिएको थियो ।

आइतबार मात्रै ४ जना प्रहरीमा कोरोना पुष्टि भएको थियो । आइतबार जिल्ला प्रहरी कार्यालय बाराका ४ जना प्रहरीमा कोरोना पुष्टि भएको थियो ।

यसअघि बुधबार कालिमाटी प्रहरी वृत्तका २ जना प्रहरीमा कोरोना पुष्टि भएको थियो । कालिमाटीका अन्य २ सय ३१ जना प्रहरीको आज कोरोना परीक्षणको लागि नमुना संकलन भएको छ । हालसम्म नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरेर १८ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ ।