काेराेना कहरका बीच मुस्लिम समुदायले आज इदुलफित्र मनाउँदै

काेराेना कहरका बीच मुस्लिम समुदायले आज इदुलफित्र मनाउँदै

काठमाडौं । मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् ।

एकमहिना लामाे रमदान (रमजान) महिना सकिएको खुसियालीमा उनीहरु आज ईद मनाउँदैछन् ।

अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन ईद मनाउने गरिन्छ अर्थात चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । 

दशौँ महिनाको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिइन्छ।

यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।
ईदको अवसरमा आज सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।

यसवर्ष काेराेना भाइरस संक्रमणकाे त्रास रहेकाले मुस्लिम आयाेगले पनि घरमै बसेर ईद मनाउन  र खुशीयाली मनाउनु आग्रह गरेकाे छ ।