भारतबाट प्रवेश गर्नेको घुइँचो लागेपछि महाकालीको झोलुङ्गे पुलबाट आवतजावतमा रोक

भारतबाट प्रवेश गर्नेको घुइँचो लागेपछि महाकालीको झोलुङ्गे पुलबाट आवतजावतमा रोक

कञ्चनपुरः कञ्चनपुरको महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल प्रवेश मार्गमा स्थानीय बासिन्दाले बन्द गरेका हुन् ।

खुला सिमानाको फाइदा उठाउँदै भारतबाट फर्कनेहरु भित्रिन थालेपछि कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने भन्दै स्थानीय बासिन्दाले पुलको आवतजावत रोकेका छन् । भारतीय सीमावर्ती बजार खटिमा, वनवसालगायतबाट रातिको समयको मौका छोप्दै भारतका विभिन्न क्षेत्रमा मजदूरी गर्न गएका नेपालीहरु लुकिछिपी सीमा क्षेत्रमा प्रवेश गर्ने क्रम निरन्तर जारी रहेको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि अपनाउनुपर्ने सावधानीहरु नअपनाइदा निकै जोखिम बढेकाले पुल बन्द गर्नु परेको स्थानीय कृष्ण साउदले बताए । सीमा नाकामा अवैध रुपमा प्रवेश गर्नेहरुलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई दशगजा क्षेत्रमा राख्ने र त्यहाँबाट सम्बन्धित जिल्लाका स्थानीय तहमा पठाउने कार्य गर्दै आएको छ । भारतबाट आउनेहरुलाई पुल भएर नै जाने व्यवस्था गरिएको छ ।

पूर्व सावधानीका कार्य नगरिँदासम्म पुलमा आवतजावतको कार्य रोक्नु परेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । स्थानीय बासिन्दाले अवैध रुपमा दशगजा क्षेत्र भएर आउने व्यक्तिहरुलाई वैधानिक गड्डाचौकीको नाका भएर प्रवेश गराउनुपर्ने स्थानीयवासीको माग छ । भारतमा रेल सेवा बहाल गरिएपछि घर फर्कने नेपालीको सीमा क्षेत्रमा घुइँचो लागेको छ ।

आठ सयभन्दा बढी व्यक्तिहरुलाई दशगजा क्षेत्रबाट उद्धार गरी सम्बन्धित जिल्लाका स्थानीय तहका क्वारेन्टिनमा पठाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । शनिबार मात्रै सीमा क्षेत्रमा रोकेर राखिएका चार सयभन्दा बढी व्यक्तिको उद्धार गरी घर पठाइएको छ ।