भारतले समान निर्यातमा रोक लगाउन थाल्यो

भारतले समान निर्यातमा रोक लगाउन थाल्यो

नेपालले जारी गरेको नयाँ नक्सालाई लिएर रुष्ट बनेको भारतले नेपालमा नाकाबन्दी लगाउनसक्ने चर्चाकै बीच भारतले प्रशोधित पाम आयलको निर्यातमा अवरोध आएको छ । नेपालबाट ठूलो परिमाणमा पाम आयल भारत निर्यात हुँदै आएकोमा पछिल्लो समय भारतले एकाएक आयातमा रोक लगाएको हो ।

नेपालबाट निकासी हुने वस्तुहरु मध्येकै सबैभन्दा ठूलो परिमाणमा पाम आयलको निर्यात हुने गर्छ । नेपालको कुल निर्यातको झण्डै २५ प्रतिशत निर्यात पाम आयल हुँदै आएको छ । केही समय अघिबाट मात्र पाम आयलको निर्यात थालेको नेपालले यसबाट ठूलै सफलता हाँसिल गरिरहेको छ ।

पाम आयलकै कारण पछिल्लो समय नेपालको वैदेशिक व्यापार घाटा(सोधनान्तर) स्थिति समेत सुधारोन्मुख हुँदै गएको छ । तर, भारतको पछिल्लो अवरोधले पुनः नेपालको आयात निर्यातको व्यापारिक सन्तुलनमा धक्का लाग्ने देखिएको छ ।

प्रशोधित पाम आयलमा भारतले प्रतिबन्ध लगाएकोबारे यतिखेर सरकार नै अनभिज्ञ देखिएको छ । तेल निर्यातमा प्रतिबन्ध लगाएको भनिएपनि के कारणले भारतले प्रतिबन्ध लगाएको हो सोबारे सरकार समेत जानकार नभएको बुझिएको छ ।

भारतले नेपाली पाम आयलमा प्रतिवन्ध लगाएपनि के कारणले लगाइएको हो सोबारे आधिकारीक धारणा भारतबाट आएको छैन ।