जापानी नागरिक लिएर नेपाल एयरलाइन्स नारिता प्रस्थान, स्वास्थ्य सामाग्री लिन हिमालय एयर चीन उड्यो

काठमाडौंः बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी  तथा नेपाली बोकेर नेपाल वायु सेवा निगमको वाइडबडी ए ३३० जहाज जापानको नारिता उडेको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज राति ९ः४५ बजे निगमको जहाजले नारिता अन्तरराष्ट्रिय विमानस्थलका लागि चार्टर्ड उडान भरेको विमानस्थलका प्रवक्ता देवेन्द्र केसीले जानकारी दिए।

जम्मा २६८ यात्रुमध्ये १९७ नेपाली छन्। उनीहरु जापानमा बसोबास गर्छन्।

नेपालस्थित जापानी दूतावासका पहलमा निगमको वाइडबडी जहाजले चार्टर्ड उडान गरेको बताइएको छ। बन्दाबन्दीमा निगमको जापानमा यो तेस्रो पटकको चार्टर्ड उडान हो। सोही गन्तव्यमा यसअघि यही जेठ २ गते निगमको वाइडबडी जहाजले दोस्रो पटक चार्टर्ड उडान गरेको थियो। गत चैत २८ गते निगमले नारितामा पहिलो चार्टर्ड उडान गरेको थियो। नेपालमा रोकिएका केही जापानी तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितामा चार्टर्ड उडान गरेको हो। निगमको वाइड बडी जहाजले काठमाडौँको सुमेघ टूर एन्ड ट्राभल्स प्रालिसँग काठमाडौँ–नारिता चार्टर्ड उडानको अनुमति लिएको निगमले जनाएको छ।

नेपाल एयरलाइन्सले नारितातामा गत फागुन १९ गतेदेखि सीधा उडान सेवा शुरु गरेको थियो। कोभिड—१९ को संक्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाल स्थगन भएको छ।

चाङशा उड्यो हिमालय

अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालय एयरलाइन्सको न्यारो बडी ए ३२० जहाज आज साँझ चीनको चाङ्शा उडेको छ। कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री लिन चाङ्शा उडेको हिमालय एयरलाइन्सको जहाज शनिबार काठमाडौँ फर्कने तालिका रहेको विमानस्थलका प्रवक्ता केसीले जानकारी दिए।

चीनबाट निजी व्यवसायीले स्वास्थ्य सामग्री ल्याउन हिमालयको जहाज कार्गो चार्टर्ड गरेको बताइएको छ।

नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्सले बन्दाबन्दीमा चीनका विभिन्न गन्तव्यबाट स्वास्थ्य सामग्री ल्याइरहेको छ। पछिल्लो पटक चीनका बेइजिङ, ग्वाङ्जाओ, चाङ्सालगायत गन्तव्यबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले कार्गो चार्टर्ड उडानमार्फत स्वास्थ्य सामग्री ल्याइरहेका छन्। हालै निगमको वाइडबडी जहाजले  ग्वाङ्जाओबाट दुई चार्टर्ड उडानमार्फत स्वास्थ्य सामग्री ल्याएको थियो। निगमको वाइडबडी जहाज शनिबार पनि स्वास्थ्य सामग्री लिन चीन जाने बताइएको छ। निगमका पछिल्ला तीन वटै उडान नेपाली सेनाले खरीद गरेको स्वास्थ्य सामग्री लिन चार्टर्ड गरिएको हो।

ट्युनिसियाबाट फर्कियो श्री

श्री एयरलाइन्सको सिआरजे–बमबार्डियर जहाजले अफ्रिकी मुलुक ट्युनिसियाबाट नेपाली सेनाका एक अधिकृतको शव लिएर आजै काठमाडौँ फर्किएको विमानस्थलले जनाएको छ।

ट्युनिसियामा शान्ति सेनाका रुपमा खटिएका ती अधिकृतको मृत्यु भएपछि उहाँको शव लिन श्री एयरलाइन्सको कार्गो चार्टड उडानको जहाज बिहीबार ट्युनिसिया गएको थियो। एक्काइस दिनअघि हृदयाघातबाट मृत्यु भएका एक अधिकृतको शव लिन संयुक्त राष्ट्र संघको खर्चमा नेपाली सेनाले चार्टर उडान गरेको बताइएको छ।