गुल्मीका कोरोना संक्रमितको शव जंगलमा गाडियो

गुल्मीका कोरोना संक्रमितको शव जंगलमा गाडियो

रुपन्देहीमा मृत्यु भएका गुल्मीका कोरोना संक्रमित पुरुषको शव जंगलमा गाडिएको छ । नेपाली सेनाको स्वास्थ्य प्राविधिक टोलीले मृत्यु भएको ३१ घण्टापछि अस्पतालबाट शव निकालेर शुक्रबार दिउँसो बुटवल धागो कारखाना पूर्वतर्फको जंगलमा गाडेको हो ।

मृतकको शव बिहीबार नै तिलोत्तमा नगरपालिकाको वडा नं ३ स्थित मगरघाटमा जलाएर व्यवस्थापन गर्ने प्रयत्न भए पनि स्थानीयले असहमति जनाएका कारण तिलोत्तमाकै वडा नं १४ अमुवा पुल नजिक व्यवस्थापन गर्ने तयारी भएको थियो । पछि त्यहाँ पनि स्थानीयले सहमति दिएनन् । शुक्रबार सैनामैनाको सालझण्डीमा रहेको सामुदायिक वनमा व्यवस्थापन गर्ने प्रयत्न पनि सफल हुन नसकेपछि स्थानीय प्रशासनले कोरोना विशेष अस्पतालसमेत रहेको बुटवल धागो कारखानाको पूर्वतर्फको जङ्गल क्षेत्रमा लगेर शव गाडेको हो ।

महामारीको समयमा शव व्यवस्थापन गर्न नदिँदा समाजमा गलत सन्देश जान्छ भनेर प्रहरीले ल्याएको कागजमा हस्ताक्षर गरिदिएको मृतकका भाइ मीनबहादुर कुँवरले बताए । कोरोना पोजेटिभ देखिएपछि अस्पतालले बिरामीको उपचारै नगरेको हुँदा छानबिन गर्नुपर्नेलगायतका माग यथावत रहेको उनले बताए ।

गाउँलेको रिपोर्ट नेगेटिभ
कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकका गाउँले २५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बुटबलमा कोरोना पुष्टि हुँदाको अर्को दिन जिल्ला स्वास्थ्य कार्यालयको टोलीले उक्त शिक्षकसँग प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाएको थियो ।

स्वाब सङ्कलन भएकाहरुमा मृतकका परिवार, बैंकका कर्मचारी, स्थानीय क्लिनिक सञ्चालकलगायत थिए । तीमध्ये पाँच जनाको रिपोर्ट आउन बाँकी रहेको र २५ जनालाई कोरोना सङ्क्रमण नभएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । स्वास्थ्य कार्यालय तम्घासका ६ र मदानेका ३० गरी कुल ३६ को स्वाब पठाइएको थियो । त्यसमध्ये मदानेका पाँच र तम्घासका छ गरी अझै ११ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए।