सेनाले उठायो गुल्मीका कोरोना संक्रमितको शव

गुल्मी मदानेका कोरोना संक्रमितको शब ३१ घण्टापछि नेपाली सेनाको टोलीले उठाएको छ ।रुपन्देहीको क्रिसन अस्पतालमा बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएका उनको शब शुक्रबार दिउँसो २ बजे सेनाले उठाएको हो ।

अस्पतालको दुई तलामाथि रहेको आईसीयू कक्षमा पुगेर नेपाली सेनाको चार–पाँच जनाको प्राविधिक टोलीले मृतकको शब निकालेर र्‍यापिङ गरी शब वाहनमा राखेर अस्पतालबाट अन्यत्र लगेको हो । शबवाहनलाई प्रहरीले स्टर्किङ गरेको थियो । मृत्यु भएको दोस्रो दिनसम्म शब उठ्न नसकेपछि सरकारको आलोचना भएको थियो । मृतकका आफन्तले कोरोना पोजेटिभ देखिएपछि अस्पतालले उपचार नगरेको भन्दै बिहीबार बिहान छानबिन हुनुपर्ने माग गरेका थिए ।

तर सेनाको टोली आएर शब व्यवस्थापनका लागि तयार कागजमा हस्ताक्षर गर्न भनेपछि उनीहरुले हस्ताक्षर गरेका रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिए ।

‘शव उठाउने क्रममा उहाँहरुले केही भन्नुभएन, हामीले बनाएको कागजमा हस्ताक्षर गर्नुभयो’ उनले भने । संघीय सरकारले बनाएको कोभिड–१९ शब व्यवस्थापन कार्यविधिमा संक्रमित मृतकलाई विद्युतीय शव दाह गृहमा जलाउनुपर्ने उल्लेख भए पनि रुपन्देहीमा छैन । शवलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने प्रहरी उपरीक्षक थापाले बताए ।