भारतबाट ४ दिनमा परीक्षणबिनै ३ हजार भित्रिए, बढ्यो कोरोनाको जोखिम

सुदूरपश्चिम प्रदेशमा ४ दिनमा कैलालीको गौरीफन्टा नाकबाट मात्रै ३ हजार २ सयभन्दा बढी नेपाली भित्रिएका छन् । चैत्र २ र ३ गते ९ सय ५०, ७ गते ८ सय ५८ र ८ गते २ हजार ४ सय ९८ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । २ र ३ गते भित्रिएका ९ सय ५० जनाको भने र्‍यापिड टेस्ट गरिएको थियो । महाराष्ट्रबाट आएका ६१ जनाको पीसीआर परीक्षणसमेत गरिएको थियो । तर, ७ गते आएका ८ सय ५८ जनालाई र्‍यापिड टेस्टसमेत नगरी गाउँ पठाइएको छ । ८ गते आएका २ हजार ४ सय ९८ जनामध्ये ६ सय जनाको मात्रै परीक्षण गरिएको जनाइएको छ ।

४ दिनको अवधिमा झण्डै ३ हजार नेपाली परीक्षणबिनै नै गौरीफन्टा नाकाबाट भित्रिएका छन् । तर, अधिकासंको कोरोना भाइरस संक्रमण परीक्षण भने हुन सकेको छैन् ।

जनप्रतिनिधिको दबाबमा भारतका विभिन्न शहरबाट आएका नागरिकलाई कोरोना भाइरसको परीक्षण नै नगरी धमाधम नेपाल प्रवेश गराइँदैछ । भारतममा ठूलो संख्यामा नेपाली छन् र ती आउँदै छन् भन्ने जानकारी हुँदाहुँदै पनि तीनै तहका सरकार यसप्रति गम्भीर देखिएका छैनन् ।

भारतका विभिन्न ठाउँबाट हजारौँ नागरिक सीमानजिक आउन थालेपछि चुनौती थपिएको छ । तर, त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारको तयारी नहुँदा संक्रमणको जोखिम बढेको छ ।

पूर्वतयारीबिनै उनीहरूलाई नेपाल प्रवेश गराइएको छ । जसका कारण स्थानीय प्रशासनका अधिकारी पनि तनाबमा छन् । श्रोतका अनुसार स्थानीय प्रशासन र सुरक्षा अधिकारीले परीक्षणबिनै भारतबाट नागरिक ल्याउँदा जोखिम बढने बताए पनि जनप्रतिनिधिको दबाबमा उनीहरूलाई नेपाल प्रवेश गराइएको हो ।

भारतका विभिन्न क्षेत्रबाट आएका करिब ३ हजार बढी नागरिकलाई धनगढीको गौरीफन्टा नाकाबाट स्वदेश प्रवेश गराइएको हो । भारतको दिल्ली, ममहाराष्ट, गुजरात राजिस्थान, हरियाणालगायतका विभिन्न शहरबाट बस रिर्जभ गरेर आएका उनीहरूले नेपाल(भारत नाकामा स्वदेश प्रवेशको माग गर्दै प्रदर्शन गरेपछि अबेर स्थानीय प्रशासनले नेपाल प्रवेश गराएको थियो ।

उनीहरूलाई केही स्थानीय तहले बस, टिपर र ट्याक्टरमा राखेर आफ्नै क्षेत्रमा लगेर क्वारेन्टइनमा राखेका छन भने कतिपय सवारी साधन नपाएपछि धनगढीका विभिन्न विद्यालयमा बसेका छन् । आएका मध्ये धेरै जसो सुदूरपश्चिमका अन्य देशका विभिन्न जिल्लाका छन् ।