लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो: राष्ट्रपति

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो: राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएकाले त्यसलाई प्राप्त गर्न तदनुकूल पहल गरिने बताएकी छिन् । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले छुटेको नेपालको भूमि समावेश गरी नयाँ नक्शा सार्वजनिक गरिने जानकारी दिइन् ।

लिपुलेक क्षेत्रमा अतिक्रमण गरी हालै भारतले सडक निर्माण गरेको थियो । नीति तथा कार्यक्रममा वर्तमान सरकार गठनपछि छिमेकी मुलुकसहित अन्तरराष्ट्रिय सम्बन्धमा नयाँ आयाम स्थापित भएको पनि जनाइएको छ ।

आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको अबको कार्यदिशा सुदृढ स्वास्थ्य पूर्वाधार निर्माण, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुने बताईन्। उनले देशको अर्थतन्त्रलाई उत्पादनशील र सुदृढ तुल्याइने जानकारी दिईन् ।

कोभिड–१९ ले राष्ट्रको अर्थतन्त्रमा प्रभाव पारेकाले त्यसको पुनरुत्थानका लागि सरकारले विविध कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयन गरिने बताईन् । आर्थिक गतिविधि बढाउने, उत्पादनशील क्षेत्रमा पर्याप्त लगानी गर्ने, फजुुल खर्च घटाउने, विकास–निर्माणको समन्यायिक वितरण, रोजगारीका अवसरको सिर्जनालाई विशेष जोड दिइने राष्ट्रपतिले बताईन्।

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण वैदेशिक सहयोगमा कमी आउने अनुमान गर्दै उनले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोत परिचालनलाई अधिक प्राथमिकता दिने तथा आत्मनिर्भर अर्थतन्त्रको विकासमा केन्द्रित रहने बताईन् ।

कोभिड–१९ को महामारीसँग लड्नु परेको अहिलेको विषम परिस्थितिमा मुलुकको समग्र अर्थतन्त्रको उत्थानका लागि कृषि क्षेत्रको व्यावसायिक प्रवद्र्धन, औद्योगिक विकास तथा उत्पादकत्व वृद्धि, राष्ट्रिय गौरवका आयोजनाको तोकिएको समय र लागतमा सम्पन्न गरिने तथा अन्य आयोजनको पुनःप्राथमिकीकरण गरेर अघि बढ्ने नीति अवलम्बन गरिने उनले बताईन्।

file:///C:/Users/user/Downloads/2b8c8f3a991a72e64eb77d4bd73dfccd-0-584917.pdf