राष्ट्रपतिलाई संसद्मा सलामी, सम्बोधन शुरु

राष्ट्रपतिलाई संसद्मा सलामी, सम्बोधन शुरु

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् । यसअघि राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रमको प्रति हस्तान्तरण गरेका थिए ।

संविधानबमोजिम हरेक वर्ष जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साताअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । यसअघि संसद्मा पूर्वबजेट छलफल भइसकेको छ । राष्ट्रपतिको सम्बोधन सकिएपछि साँझ ६ बजे दोस्रो बैठक बस्ने कार्यतालिका छ ।

राष्ट्रपति आउँदा नयाँ बानेश्वरस्थित सङ्घीय संसद्मा स्वागत गरिएको थियो । राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेलगायतले स्वागत गरेका थिए । सो अवसरमा राष्ट्रपति भण्डारीमा सम्मानमा सलामी दिइएको थियो ।

राष्ट्रपतिको स्वागतका लागि संसद् सचिवालयले नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पानीको फोहरा, ध्वजापताका र राष्ट्रिय झण्डा फहराउनाका साथै सुरक्षा प्रबन्ध गरेको छ ।