नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाल सरकारलाई भारतले मिचेको नेपाली भूमि लिम्पियाधुरासहितको भू-भाग सममेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ । भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि नेपालमा त्यसको विरोध हुँदै आएको छ । सरकारलाई चाँडोभन्दा चाँडो भारतले मिचेको नेपाली भू-भाग समेटेर नक्सा जारी गर्न सरकारलाई भनेको सचिवालय सदस्य झलनाथ खनालले बताए ।
‘आज बसेको सचिवाल बैठकले भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न पहल थाल्नुपर्ने, चाँडोभन्दा चाँडो लिम्पियाधुरालगायत मिचिएमन भूभागसहितको नक्सा सरकारले निकाल्नुपर्ने, मिचिएको भूमिको रक्षा गर्न सरकार बिचलित हुनु नहुने निर्देशन दिएको छ,’ उनले भने ।
भारतले नेपाललाई थाहा नै नदिई एकलौटी रूपमा नेपाली भूमिमा बनाएको सडक तत्काल रोक्न पहल गर्नुपर्ने सुझाव दिएको उनले बताए । यसबारेमा सरकारले भारत सरकारसँग बुझेर वार्ता गर्न पनि सुझाव दिएको खनालले जानकारी दिए ।
आज बसेको बैठकले सरकारको नीति तथा कार्यक्रममाथि पनि सल्लाह सुझाव दिएको छ । कोरोना भाइरसका कारण ओरालो लागेको अर्थतन्त्र उकास्ने गरी कार्यक्रम प्रस्तुत गर्नुपर्छ भन्ने सुझाव सचिवालयले दिएको खनाले बताए ।
आजको बैठकले कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने, सरकारले अझै बढी तदारुपताका साथ काम गर्नुपर्ने निष्कर्ष निकालेको उनले बताए ।