गृह मन्त्रालयको आदेशमा पूर्वराजारानीको सवारी पास खारेज

गृह मन्त्रालयको आदेशमा पूर्वराजारानीको सवारी पास खारेज

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह काठमाडौं आउनका लागि झापा जिल्ला प्रशासनले बिहीबार जारी गरेको सवारी पास केही घण्टामै खारेज गरेको छ । झापाका जिल्ला प्रशासन प्रमुख उदयबहादुर रानामगरले सवारी पास खारेज गरिएको पुष्टि गरे ।

पूर्व राजा शाहका प्रतिनिधि सवारी पास लिनका लागि बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रशासनले तत्कालै सवारी पास जारी गरेको थियो । त्यसको केही घण्टामै प्रशासनले सवारी पास खारेज गरिएको जानकारी गराएको थियो । गृह मन्त्रालयको आदेशमा झापा जिल्ला प्रशासन कार्यालयले पूर्वराजारानीको सवारी पास रद्द गरेको हो ।

‘हामीले सुरुमा सवारी पास जारी गरायौँ। पछि गृह मन्त्रालयमा बुझ्दा हाम्रो आदेश नहुँदासम्म केही पनि नगर्नु भन्ने कुरा आयो। त्यसैलाई तत्काल हामीले फोन गरेर सवारी पास खारेज भएको निर्णय सुनायौँ’, झापाका सिडियो रानामगरले भने। पूर्व राजा र पूर्वरानी शुक्रबार राजधानी आउने कार्यक्रम थियो।

पूर्व राजा ज्ञानेन्द्र शाह लकडाउन सुरु हुनुअगावै पत्नी कोमलसहित झापा पुगेका थिए। झापामा रहेको आफ्नो हिमालय चिया बगानमा शाह दम्पती बसिरहेका थिए।