परिस्थिति जस्ताे भए पनि पूर्ण बजेट नै आउँछः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा‍‍. युवराज खतिवडाले चर्चा भए जस्तो पुरक बजेट नआउने बताएका छन्।

विनियाेजन विधेयक २०७७ का सिद्धान्त र प्राथमिकतामाथिकाे छलफलका क्रममा उठेका प्रश्नकाे जवाफ दिँदै अर्थमन्त्री खतिवडाले पुरक वा अर्ध बजेट ल्याउने सम्भावना नरहेकाे बताएका हुन् ।

परिस्थिति जस्ताे भएपनि आर्थिक वर्षकाे सुरुवातमै अर्धबजेट ल्याउन नसकिने उनकाे भनाइ छ।

छलफलका क्रममा कांग्रेस सांसद मिनेन्द्र रिजाललगायतका केही सांसदले काेराेना भाइरसको संक्रमणले अर्थतन्त्रमा पुर्याएकाे क्षति अनुमान गर्न तत्काल असम्भव रहेकाे भन्दै पुरकबजेट मात्र ल्याउन सुझाव दिएका थिए ।

तर मन्त्री खतिवडाले भविष्यकाे आँकलन गर्न सक्ने क्षमता सरकारसँग रहेकाे भन्दै पूर्ण बजेटनै आउने बताए ।

मन्त्री खतिवडाले काेराेनाकाे महामारीसँग जुधिरहेकाे भएपनि आर्थिक संमृद्धिको नारालाई यथार्थमा उतार्न सरकारले कुनै कसर बाँकी नराख्ने र साेही अनुसार बजेट ल्याउने पनि दाबी गरे ।

यसबाहेक उनले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा जाने बजेट खारेजीकाे विषयमा संसदले सामूहित निर्णय गरेर सरकारलाई निर्देशन दिए आफूहरुलाई सहज हुने पनि बताए ।