ओली-प्रचण्डबीच भयो यस्तो सहमति, भोलि नै बस्ने भयो नेकपा स्थायी कमिटी बैठक

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बुधबारका लागि स्थायी कमिटी वैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक बोलाइएको हो । स्थायी कमिटी वैठक नबोलाएको भन्दै पार्टीभित्रबाटै चर्को आलोचना भएपछि प्रधानमन्त्री ओली र नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीछ भोलि बुधबारका लागि स्थायी कमिटी बैठक बोलाउने सहमति भएको स्रोतको दाबी छ । भोलि बैठक शुरु मात्र गरिने र छलफल बजेटपछि मात्र हुनेगरी बैठक बोलाउन अध्यक्षद्धय सहमत भएका थिए ।

सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि नेकपामा विवाद चर्किएको थियो । त्यही बेला २० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयलाई लिखित पत्र लेखेर बैठक माग गरेका थिए । सचिवालयमा सहमति बनेसँगै २५ गतेका लागि स्थायी कमिटी बैठक बोलाइएपनि अध्यक्षद्धयबीच असमझदारी बढेपछि अन्तिम समयमा आएर बैठक स्थगित भएको थियो ।

विवादास्पद अध्यादेशलाई बैठकको एजेण्डा बनाउने भएपछि प्रधानमन्त्री ओली बैठक टार्ने रणनीतिमा लागेका थिए । त्यसयता बैठक बोलाउने विषयमा दुई नेताबीच पटकपटक छलफल भएको थियो । उनीहरुबीच हाल बैठक शुरु गरेर लिखित रुपमै बैठक बोलाउन आग्रह गर्ने नेताहरुको मागको संबोधन गर्ने र बजेटपछि बैठकमा छलफल गरिने सहमति भएको थियो ।