डेढ महिनापछि खुलेको सेयर बजारमा साढे १ घण्टा नपुग्दै लाग्यो सर्किट

लकडाउनपछि खुलेको सेयर बजारमा साढे १ घण्टा नपुग्दै सर्किट ब्रेक लागेको छ । डेढ महिनापछि आज ११ बजे खुलेको सेयर बजार लगातार ओरालो झरेपछि १२ बजेर २३ मिनेट जाँदा सर्किट लाग्न पुगेको हो । कारोबार खुलेकोभन्दा २ प्रतिशतले बजार घटेपछि सर्किट ब्रेक लाग्ने व्यवस्था गरिएको छ।

सो व्यवस्थाअनुसार परिसूचक नेप्से २५ अंक अर्थात २ प्रतिशतले घटेपछि सर्किट लागेको हो । यस दिन जम्मा १० करोड रुपैयाँको सेयर किनबेच भयो । बैंकिङ २६, होटल ३, विकास बैंक १५, जलविद्युत १५, फाइनान्स ३, निर्जीवन बीमा ७२, उत्पादन ३४, अन्य १९, माइक्रोफाइनान्स १८ र जीवन बीमा समूह १५७ अंकले घटे ।

यस दिन नागरिक लगानी कोषको सबैभन्दा बढी रकमको सेयर कारोबार भएको छ। सो कम्पनीको मात्रै ८ करोड ८८ लाख रुपैयाँको कारोबार भयो। यस दिन सबै कम्पनीको सेयर मूल्य घटेको छ।

जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । हिमालयन बैंक, नविल बैंक, नागरिक लगानी कोषका लगानीकर्ताले ३ प्रतिशत बढी गुमाए ।