यस्तो छ, गगन थापाले प्रतिनिधिसभा बैठकमा सुनाएको वालकविता

वालकविता: म त भाग्यमानी

छैन यहाँ देशको नक्सा मेटिएको
न त लिपुलेकलाई डोजरले रेटिएको

यस्तो सबल सरकार छ सीमा कसले मिच्नी
कोही छैनन् जोरी खोज्ने, छैनन् कोही हेप्नी

सयौं कोश हिँड्दा पनि श्रमिक छैनन् आहत
गरीवलाई सम्मान छ, सरकारबाट राहत

विदेशमा कोही पनि अलपत्र छैनन्
दुःख पीडा सुनाउने ती नेपाली नै हैनन्

जनताको व्यथालाई ध्यान दिएर सुन्ने
कृषक, साना व्यापारीको सारै मर्म बुझ्ने

भ्रष्टाचारलाई नसहने सरकारको छ नीति
हावादारी हल्ला हुन्, ओम्नी र यती

सरकार यस्तो इमान्दार, यस्तो स्वाभिमानी
आलोचना ग्रहण गर्छ सल्लाह सुझाव ठानी

सबैतिर वाह वाहै यस्तो विकास देख्दा
पत्रकार नि दंग छन्, यी समाचार लेख्दा

कोमल हृदयका प्रधानमन्त्री, आसु कवि हाम्रा
दिन नबिराई सृजना छ, आहा कति राम्रा

राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला
गीत–कविता भट्याउँदै कालापानी जाउँला
सारा नेपाल हाँसेको छ, मेची–काली गाउँछ
आँसु आए बरु त्यही गीतले आउँछ

यस्तो नायक गजबका ल्यायौं जानीजानी
अहो हामी नेपाली त सारै भाग्यमानी
अहो सारै भाग्यमानी
म त भाग्यमानी ।

(कांग्रेस सांसदसमेत रहेका कवि गगनकुमार थापाले यो कविता सोमबार प्रतिनिधिसभा बैठकमा सुनाएका हुन् । )