भारतले भन्यो ‘लिपुलेकमा सडक विस्तार गरेको भूभाग हाम्रै हो’, नेकपा अध्यक्षद्वयको प्रतिक्रिया, ‘परिस्थिति थप बिग्रन सक्छ’

भारतले भन्यो ‘लिपुलेकमा सडक विस्तार गरेको भूभाग हाम्रै हो’, नेकपा अध्यक्षद्वयको प्रतिक्रिया, ‘परिस्थिति थप बिग्रन सक्छ’

काठमाडौँः भारतले नेपाली भूभाग लिपुलेकबाट चीनको मानसरोवर जोड्ने सडक विस्तार गरेपछि अहिले चौतर्फी परिचर्चा छ । यसअघिको सीमा विवादमा ठोस प्रगति नहुँदै भारतले एकपक्षीय रुपमा सडक विस्तार गरेको हो ।

परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै सडक विस्तारप्रति आपत्ति जनाएको थियो। लगत्तै भारतीय विदेश मन्त्रालयले नेपाल सरकारबाट जारी भएको विज्ञप्ति जानकारीमा रहेको भन्दै उक्त भूभाग भारतकै भएको बताएको छ ।

भारतीय विदेश मन्त्रालयले सीमा विवादबारे छलफलका लागि छुट्टै संयन्त्र रहेको भन्दै कोरोना महारमारीपछि सचिव स्तरीय संयन्त्र क्रियाशील हुने पनि जनाएको छ ।

भारतीय विदेश मन्त्रालयको प्रतिक्रिय लगत्तै नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले भारतको कदमको भत्र्सना गरेका छन् । महामारीका बीचमा भएको कार्यले परिस्थिति थप बिग्रन सक्ने नेकपाको वक्तव्यमा उल्लेख छ ।