लिपुलेकमा भारतले एकतर्फी रुपमा सडक बनाएपछि नेपालले जनायो आपत्ति, ऐतिहासिक दस्तावेजका आधारमा विवाद सुल्झाउन जोड

लिपुलेकमा भारतले एकतर्फी रुपमा सडक बनाएपछि नेपालले जनायो आपत्ति, ऐतिहासिक दस्तावेजका आधारमा विवाद सुल्झाउन जोड

काठमाडौंः सरकारले भारतले एकतर्फी रुपमा नेपाली भूभाग लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक बनाएकोमा आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त कदमलाई दुई देशका प्रधानमन्त्रीबीच भएको सहमति विपरीतको कदम भनेको छ । शुक्रबार उक्त सडकको उद्घाटन भएपछि सबै क्षेत्रबाट आलोचना भइरहेको छ ।

परराष्ट्रले दुई देशबीचको सीमा विवादबारेको विषय विचाराधीन रहेको अवस्थामा एकतर्फी रुपमा सडक बनाइएकोमा आपत्ति जनाएको हो । सीमा विवादबारे दुई पटकसम्म सचिवस्तरीय बैठकका लागि प्रस्ताव गर्दा भारत छलफलका लागि तयार नभएको पनि जनाइएको छ । विवादबारे कूटनीतिक नोट पठाइसकिएको पनि विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भारतको कदम यसअघि दुई देशका प्रधानमन्त्रीबीच भएको समझदारीको विरुद्ध भएको उल्लेख छ । सुगौली सन्धिमा महाकाली नदीको पूर्वक्षेत्र नेपालको भूभाग भएकोबारे पनि स्मरण गराइएको छ । सीमा विवाद ऐतिहासिक दस्तावेज प्रमाणका आधारमा हल हुनुपर्ने पक्षमा नेपाल रहेको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा नेपाल भारत प्रवुद्ध व्यक्ति समूहको प्रतिवेदन बुझ्न नेपाल तयार रहेको उल्लेख गर्दै प्रतिवेदनका आधारमा विवाद हल हुनुपर्नेमा जोड दिइएको छ ।