लिपुलेक मिचिएकोमा सरकार बेखबर रहनु आश्चर्यजनक : राप्रपा अध्यक्ष राणा

लिपुलेक मिचिएकोमा सरकार बेखबर रहनु आश्चर्यजनक : राप्रपा अध्यक्ष राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले लिपुलेक मिचिएको बारेमा सरकार बेखबर रहनु आश्चर्यजनक र सन्देहपूर्ण रहेको बताएका छन् । नेपाली भूमिमा भारतले एकतर्फी सडक निर्माण गर्दा सरकार भूमिकाविहीन देखिनुले सरकार छ ? कहाँ छ ? भन्ने प्रश्न उब्जिएको राणाले शनिबार बताए।

लिपुलेक निर्विवाद रूपमा नेपालको हो भन्दै, राप्रपा अध्यक्ष राणाले सरकारले कूटनीतिक तहमा पहल गरेर नेपाली भूभाग सुरक्षित राख्नु पर्नेमा जोड दिए। राणाले ट्वीट गर्दै भनेका छन्, ‘लिपुलेक नेपालको हो, यसमा कुनै विवाद छैन। नेपाली भूभाग भएर भारतले सडक निर्माण गरेको जानकारी आएको छ। नेपाल सरकार यसबारे बेखबर रहनु आश्चर्यजनक छ, सन्देहपूर्ण छ।’ उनले भने, ‘यसबाट सरकार छरु कहाँ छ ? भन्ने प्रश्न पुनः उब्जिएको छ। तत्काल कूटनीतिक पहल गरेर सरकारले नेपाली भूमि सुरक्षित गर्नुपर्दछ।’

यता भारतको सो कदमबारे नेपाल सरकारले आपत्ति जनाएको छ । शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाली भूभागमा सडक उदघाटन गरिएकोमा आपत्ति जनाएको हो ।

लिम्पियाधुरा, कालापानी र लिपु लेकसहित काली (महाकाली) नदीको पूर्व क्षेत्र नेपाली भूभाग हो भन्ने कुरा नेपाल सरकारले विगत देखि नै पटक-पटक दोहोर्‍याउँदै आएको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समयमा पनि यो कुरा नेपाल सरकारले धेरै पटक दोहोर्‍याएको र भारत सरकारलाई सम्बोधन गरिएको र भारतले जारी गरेको नक्शाका सम्बन्धमा कूटनीतिक नोटसमेत पठाइएको परराष्ट्रको विज्ञप्तिमा स्मरण गरिएको छ ।