आइतबारदेखि बैंक तथा वित्तीय संस्था खुल्दै, एकतिहाइ कर्मचारी मात्रै कार्यालय जान पाउने

मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् । लकडाउनको अवधिमा पनि शर्तसहित बैंक तथा वित्तीय संस्था खुल्ने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै केही शर्त पालना गरेर बैंक तथा वित्तीय संस्था खुलाउन निर्देशन दिएको हो । यसको लागि कुल कर्मचारीको एक तिहाई कर्मचारी मात्रै कार्यालय जान पाउने र कुल सवारीको एक चौथाइ सवारीलाई मात्रै पास दिइने राष्ट्र बैंकले जनाएको छ ।

सेवा दिने क्रममा बैंकका जनशक्तिले पूर्ण रुपमा निसङ्क्रमण गर्नुपर्ने, मास्क, स्यानिटाइजर, पञ्जा लगायत सुरक्षाका उपकरण प्रयोग गर्नुपर्ने र सेवाग्राहीको पनि थर्मल गनमार्फन ज्वरो नाप्ने र अन्य सुरक्षात्मक उपाय अपनाउनुपर्नेछ । सेवाग्राहीको भिड नहुने सुनिश्चित गर्न र सकभर विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।