सीमा विवाद ओलीको राष्ट्रवादी अडानको पुनःपरीक्षण होइन: बाँस्कोटा

पूर्व सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कालापानी क्षेत्रको सीमा विवाद प्रधानमन्त्री केपी शर्मा ओलीको जमारक्षाको कुरा नभएको बताएका छन् । उनले शनिबार बिहान सामाजिक सञ्‍जालमार्फत यस्तो भनेका हुन्।

'कालापानी क्षेत्रमा रहेको सीमा विवाद ओलीको राष्ट्रवादी अडानको पुनःपरीक्षण होइन', उनले भनेका छन्, 'ओलीअघिको हाम्रो नेतृत्वको मौकापरस्त दृष्टिकोण र भारतको मिचाहा नीतिको परिणाम हो।' उनले पश्‍चिमी क्षेत्रमा मिचिएको सीमा ओलीको जामा रक्षाको मात्रै सवाल नभएको बताएका छन्।

'प्रश्‍न ओलीको जामारक्षाको होइन', उनले भनेका छन्, 'आमाको स्वाधीनता रक्षानिम्ति उनले चाल्ने कदममा नेपालीको दृढतापूर्ण साथको हो।' भारतले नेपाली भूमि लिपुलेकबाट चीनसम्म जोड्न सडकमार्ग खोलेपछि नेकपाका प्रवक्ताको यस्तो प्रतिक्रिया आएको हो।