सांसद अपहरणसम्बन्धी उजुरी जिल्ला सरकारी वकिल कार्यालयबाट प्रहरीमा पुग्यो

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले दिएको अपहरणसम्बन्धी उजुरी जिल्ला सरकारी वकिल कार्यालयबाट प्रहरीमा पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले जाहेरी दर्ता गरेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।

गत २२ वैशाखमा जिल्ला सरकारी वकिल कार्यालयले अपहरणको जाहेरी दर्ता गरेको थियो । चार दिनपछि शुक्रबार जाहेरी प्रहरीमा पुगेको हो । प्रहरीले लिन नमानेपछि सांसद डा. यादवले सरकारी वकिल कार्यालयमा जाहेरी दिएका थिए ।

सांसद यादवले नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसन) तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेरी दिएका थिए । सरकारी वकिल कार्यालयबाट आएको जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

स्रोतका अनुसार प्रहरीले घटनास्थलको मुचुल्कासमेत संकलन गरेको छ । शुक्रबार नै प्रहरी टोली होटेल म्यारियट पुगेर मुचुल्का बनाएको हो । मुचुल्कामा कसुर भएको मिति र समय, कसुर भएको ठाउँको ठेगाना, विवरण र रेखाचित्र, सम्बन्धित ठाउँको वस्तुस्थिति तथा कसुर वा कसुरदारसँग त्यसको सम्बन्ध र कसुर भएको ठाउँ, त्यसवरपर देखिएको दसी प्रमाण र कसुरसँग सम्बन्धित अन्य उल्लेखनीय कुरा समावेश हुन्छन् । घटनाको अनुसन्धान अधिकृत तोकिएका काठमाडौं परिसरका डिएसपी कृष्ण चन्द नेतृत्वको टोलीले सो विवरण संकलन गरेको हो ।  आजको नयाँ पत्रिका दैनिकले छापेको छ।