सरकारको प्रतिरक्षामा एकतावद्ध भएर सदनमा प्रस्तुत हुन प्रधानमन्त्रीको सांसदहरुलाई निर्देशन

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका विषयमा एकतावद्ध भएर संसदमा प्रस्तुत हुन सांसदहरुलाई ध्यानाकर्षण शैलीमा निर्देशन दिएका छन् । शुक्रबार सांसदहरुलाई लिखित पत्राचार गर्दै प्रधानमन्त्री ओलीले सरकारका पक्षमा उभिन लिखित निर्देशन दिएका हुन् ।

शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रतिनिधिसभाका प्रमुख सचेतक देवप्रसाद गुरुङ, राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराई लगायतसँग परामर्शपछि ओलीले लिखित निर्देशन दिएका हुन् ।

विगतमा जस्तै यो अधिवेशनमा पनि सरकारका पक्षमा एकतावद्ध भएर उभिन निर्देशनमा उल्लेख गरिएको छ । संसदीय दलको नेताको हैसियतमा ओलीले सांसदलाई पत्राचार गरेका हुन् ।

पछिल्लो समयमा नेकपाभित्र आन्तरिक विवाद छ । आन्तरिक विवाद नीति कार्यक्रम र बजेटमा समेत पर्न सक्ने अनुमान भइरहेका बेला ओलीले यस्तो निर्देशन दिएका हुन् ।