सरकारको नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत हुने,प्रि- बजेट छलफल वैशाख २८ देखि

सरकारको नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत हुने,प्रि- बजेट छलफल वैशाख २८ देखि

काठमाडौं । नयाँ आर्थिक बर्षकाे सरकारको नीति तथा कार्यक्रम आगामी जेठ २ गते संघीय संसदमा प्रस्तुत हुने भएको छ।

जेठ २ गते अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएकाे संघीय संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए।

बैशाख २६ गतेबाट बजेट अधिवेशन सुरु हुँदैछ ।

सचिवालयका अनुसार वैशाख २८ गतेबाट प्रि-बजेट छलफल शुरू गर्ने पनि कार्यसूचि तय भएकाे छ।

बजेट सार्वजनिक हुनभन्दा १५ दिन अघि प्रिबजेट छलफल पारित गरिसक्नु पर्ने प्रतिनिधि सभा नियमावलीमा उल्लेख छ। संविधानको व्यवस्था अनुसार जेठ १५ नयाँ आर्थिक बर्षको बजेट सार्वजनिक गर्नुपर्छ।

तर नीति तथा कार्यक्रमका हकमा भने त्यस्ताे कुनै व्यवस्था छैन। त्यसैले नीति तथा कार्यक्रम जेठ २ मा राखिएकाे हाे । सचिवालयका अनुसार नीति तथा कार्यक्रममाथिकाे छलफल ५ गतेभित्रमा सक्ने कार्यसूची तय भएकाे छ ।