लेखा समितिले थाल्याे स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा भएकाे अनियमितताकाे छानविन

काठमाडाैं । प्रतिनिधि सभा अन्तर्गतकाे सार्वजनिक लेखा समितिले कोरोना राेकथामका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा भएकाे अनियमितताकाे विषयमा छानविन सुरु गरेकाे छ ।

समितिले आइतबार स्वास्थ्य मन्त्रालयलाई पत्र काट्दै ओम्नी विजनेस कर्पोरेट इन्टरनेसनलसँगको स्वास्थ्य सामग्री खरिद प्रक्रियाका सम्पूर्ण कागजात एक साताभित्र उपलब्ध गराउन माग गरेको हाे ।

सरकारले ओम्नी समूहसँग सम्झाैता गरे लगत्तै विवादमा तानिएपछि उक्त सम्झाैता रद्द गर्न स्वास्थ्य विभाग बाध्य भएकाे थियाे । तर सम्झाैता रद्द भएपनि ओम्नीले पहिलाे चरणमा ल्याएका सामानहरुमा पनि अनियमितता भएकाे र गुणस्तर पनि नभएकाे भन्दै छानविन गर्नु पर्ने माग उठिरहेकाे थियाे ।

समिति सचिव डा. रोजनाथ पाण्डेले संसदीय समितिलेनै यसकाे छानविन गर्नुपर्छ भनेर प्रक्रिया अगाडि बढाएकाे जानकारी दिएका छन् ।

पाण्डेद्वारा मन्त्रालयमा पठाइएकाे पत्रमा भनिएको छ, ‘स्वास्थ्य सेवा विभागमार्फत बिना प्रतिस्पर्धा ओम्नी विजनेस कर्पोरेट इन्टरनेसनलसँग स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद गर्ने कार्य अगाडि बढाइएकोमा सो खरिद सम्झौता रद्द गरिएको बुझिएकाले यस सम्बन्धमा समितिले छानबिन कार्य अघि बढाउन आवश्यक देखेकाले सो सम्बन्धमा मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हुने आवश्यक कागजात तथा खरिद प्रक्रियामा भए गरेका सम्पूर्ण कागजात सात दिनभित्र समिति सचिवालयमा उपलब्ध गराइदिनुहुन निर्देशानुसार अनुरोध छ । ’